इक्राद्धारा रोजाका अवसरमा गरिब परिवारलाई आर्थिक सहयोग

बाँके,१४ असार । संसारको एउटा यस्तो विविध विषयले भरिएको देश नेपाल, जसको नागरिक बन्न पाउँदा गर्वले छाती फुलेर आउँछ । राजनीतिलाई एकछिन बिर्सने हो भने सयौँ थरी भाषा, संस्कृति, पर्व अनि चाडबाड, रीतिरिवाज, भेषभूषाको अनुपम थलो नेपाल हो, जहाँ विभिन्न थरीका जातजाति, भाषा, समुदाय अनि संस्कृतिहरु छन् । यस अर्थमा पनि हामी नेपाली भाग्यमानी छौँ । सायद्, भाग्य भनेको यही होला जुन प्रकृतिप्रदत्त छ । कोही मान्छेले चाहेर या नचाहेर पनि यस्ता विषय विविधता भित्र्याउन या बनाउन सक्दैन । ‘सय थरी बाजा एउटा ताल, सय थरी गोडा एउटै चाल’, यस्तो अनुमप सुन्दर क्षेत्र नहोला विश्वमा नेपालीहरुको साझा ज्यान हो यो भूमि ।
 
मुस्लिमहरुको एक महिने पवित्र महिना रमजान बिदा हुन अब धेरै दिन बाँकी छैन् । यता गरिबीको चरम रेखा मुनी रहेका बाँकेमा ३५ परिवारलाई रमजानको महिनामा कपडा बनाउन र ईद हर्षोउल्लासका साथ मनाउन का लागि नेपाल इक्रा एजुकेशनल फाउण्डेशनले परिवारीक विवरण अनुसार आर्थिक सहयोग गरेको फाउण्डेशनका केन्द्रीय अध्यक्ष अब्दुल कबिले बताए ।
अािर्थक सहयोग प्रदान गर्नु हुदै अब्दुल कवि
कबिका अनुसार हरेक वर्ष जस्तै यस वर्ष पनि बाँके जिल्लाका अति गरिब परिवारलाई ३ हजार देखि १० हजार सम्म आर्थिक सहयता प्रदान गरेको बताउनु भयो । कविले भने मुस्लिमहरुको पाँच महत्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्रा नियमानुसार निकाल्नु पर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुस्लिमहरुले महत्वपूर्ण महिनाका रुपमा लिने गरेका हुन् । घाम उदाउनु भन्दा डेढ घन्टाअगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि विभिन्न परिकारहरुसँगै समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय अर्थात् इफतारी समय पनि भनिन्छ । दिनभर पानी पनि पिउन नहुने यो पर्वमा मुस्लिमहरुले आ–आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुदैन, जानेर थुक पनि निल्नु हुदैन । दिनभर केही पनि खान नहुने भएकाले ठूला मानिसहरुले सजिलै रोजा पूरा गरे पनि उमेर नपुगेकाले धेरै कठिनाइ भोग्नुपर्ने हुन्छ । जसले जति कठिनाइ महसुस गर्छ, त्यसले त्यति सवाव (धर्म) पाउछ भनेर ठूला मानिसहरुले बालबालिकालाई रोजा बस्न प्रेरित गर्छन् ।
विपन्न मुस्लिमहरु संग समूहिक तस्बीरमा अब्दुल कवि ।
मुस्लिम कानुनका ज्ञाता समेत रहेका अध्यक्ष कविले,शरीर र मन दुवै शुद्ध रहनु पर्ने रोजामा महिलाहरुको महिनावारी सुरू भएमा त्यो महिलाको रोजा हुदैन र महिनावारी रोकिएपछि पुनः रोजा बस्नुपर्ने हुन्छ । रोजाको समयमा श्रीमान् र श्रीमतीबीच शारीरिक सम्पर्क गर्न नहुने बताए । मुस्लिमहरुले रोजा अवधिभर नियमित नमाज पढ्छन् र रातिको नमाजपछि मस्जिदमा तरावी नमाज पनि पढ्ने गर्छन् । तरावी नमाज मुस्लिमहरुको विशेष प्रार्थना हो । यो रमजानमा मात्र पढ्ने गरिन्छ । यो नमाज २० रकातको हुन्छ, जसमा इस्लामी ग्रन्थ कुरान पढ्नुपर्छ ।
आर्थिक रुपमा सम्पन्न मुस्लिमहरुले रोजाको समयमा गरिब, दीनदुःखीहरुलाई दान गर्नुपर्छ । दान धार्मिक नियमानुसार गर्नुपर्ने हुन्छ, जसमा आफूले यो वर्षभरि कमाएको सम्पत्तिको २ दशमलव ५ प्रतिशत रकम छुट्टयाई गरिब र असहायलाई बाड्ने गरिन्छ । यसमा कसैले कम, कसैले बढी भन्ने हुदैन । यस अतिरिक्त रोजाको अवधि पूरा गरिसकेपछि इदको नमाज पढ्नुभन्दा पहिले जनही एक किलो ७ सय ५० ग्राम गहुको दाम निकाल्नु पर्छ, र सोहीबराबरको रकम मस्जिद अथवा गरिबलाई दान दिनुपर्दछ, जसलाई फित्रा भनिन्छ । यो नियम संसारभरिका मुस्लिमहरुमा लागू हुने गर्दछ । यसरी निकालिएको रकम गरिब, दीनदुःखीहरुलाई बाड्नुका साथै फित्रा र जकात मुस्लिमहरुको पाठशाला (मदरसा) सञ्चालनमा प्रयोग गरिन्छ । तीस दिनको रोजा पूरा गरेपछि पुरूषहरु इदगाह वा मस्जिदमा र महिलाहरु एकान्त ठाउमा गएर सामूहिक रुपमा नमाज पढ्ने गर्छन् र अन्त्यमा एकापसमा अँगालो मारेर इद मुवारक भन्दै शुभकामना र बधाई साटासाट गर्छन् । रमजान वा नमाजको अवधिभर शरीरसगै लुगाफाटो पनि शुद्ध राख्नुपर्ने कडा धार्मिक नियम छ ।
 
(प्रकाशित मिति:१६ आषाढ २०७३)

Comments