रमजान विशेष: रमजानको व्रत र ईदुल फित्र

मोहम्मद जाकिर हुसैन //

भूमिका:
संसारका सवै धर्मावलम्बीहरूले कुनै न कुनै चाड वा उत्सव मनाउने गर्दछन् । नेपालमा बहुसंख्यक हिन्दूहरूले विजया दशमी, तिहार (दिपावली) आदि मनाउँछन् । 
तराईवासी हिन्दूहरू होली, छठ, रक्षाबन्धन, रामनवमी, हरिबोधनी एकादसी आदि मनाउँछन् । काठमाडौं उपत्यकाका नेवारहरूले ईन्द्र जात्रा, गाईजात्रा जस्ता अनगिन्ती धार्मिक उत्सवहरू मनाउँछन् ।
यहाँका बौद्धमार्गीहरूले ल्होसार र बुद्धजयन्ति आदि मनाउँछन् । ईसाई धर्मावलम्बीहरूले क्रिसमस मनाउँछन् । त्यस्तै यहाँका एक सयभन्दा बढी जातजातिका मानिसहरूले आआफ्नै परम्परा अनुसारका चाडपर्वहरू मनाउँछन् । नेपालमा परापूर्व कालदेखि बस्दै आएका मुसलमानहरूले मुख्यतः दुई ठूला चाड ईदुल फित्रईदुल अज्हामनाउँछन् । यिनै दुई चाडहरूलाई इस्लाममा ठूलो महत्ता प्राप्त छ । यी दुईमध्ये यति बेला ईदुल फित्र सान्दर्भिक भएकोले धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले यसको उपादेयता र नेपाली परिवेशमा यसको चर्चा गरिएको छ ।

रमजान महिनाको व्रत:
अल्लाहका अन्तिम सन्देशवाहक मुहम्मद (सल्ल.) व्रत बस्नुभयो । उहाँ मक्काबाट मदीना शहरमा निर्वासन भएको डेढ वर्षपछि अल्लाहले रमजानमहिनाभरि व्रत लिने आदेश दिए– ‘तिमीहरूलाई अल्लाहभक्त बनाउन तिमीहरूका लागि व्रत अनिवार्य गरिएको छ, जसरी तिमीहरूभन्दा पहिलेका मानिसहरूमाथि अनिवार्य गरिएको थियो ।’ (कुरआन २: १८३)
व्रतको अर्थ:
अरबीमा व्रत (उपवास) लाई शौमभनिन्छ भने फारसी र उर्दू भाषामा यसलाई रोजा भनिन्छ । व्रतको अर्थ स्पष्ट गर्न इस्लाम धर्मशास्त्रबेत्ता स्व. मौलाना अबुल हसन अली मियाँ नदवीको पुस्तक एन इन्ट्रोडक्शन अफ इस्लामबाट एउटा अनुच्छेद उद्धृत गरौं– ‘इस्लामी व्रतमा कुनै आहार र पेय पदार्थ यहाँसम्म कि औषधि सेवन गर्नु पनि वर्जित छ । आहार र खानपीनमा कुनै पनि चिजलाई कुनै पनि किसिमको विशिष्टता प्राप्त छैन; जस्तैअन्न वर्जित छ र फलफूल जायज छ वा कागती र नुनको साथ पानी जायज छ भनेर भन्न पाइँदैन । यस किसिमका कुनै पनि चिजबाट व्रत भंग हुन्छ ।
व्रतमा वर्जित कार्यहरू:
व्रत लिएको व्यक्तिलगे समष्टिगत रूपमा निम्न कार्यहरू गर्नु हुँदैन
Ø  सुर्योदय हुनुभन्दा लगभग एक डेढ घन्टापहिलेदेखि सूर्यास्तसम्म कुनै पनि किसिमको चिज खाने र पिउने काम गर्नु हुँदैन । शरीरलाई शक्ति र खाद्यबस्तु पुग्ने वा हानि पु-याउने सवै किसिमका क्रियाकलापहरू यसमा शामेल छन्; जस्तै स्लाइन, रगत आदि चढाउनु, धुम्रपान गर्नु आदि ।
Ø  सुर्योदय हुनुभन्दा लगभग एक डेढ घन्टापहिलेदेखि सूर्यास्तसम्म यौनक्रिया र यससँग सम्बन्धित अन्य कुनै पनि क्रियाकलाप गर्नु हुँदैन ।
Ø  झूठ बोल्नु, पिठ्यूँपछाडि निन्दा (गीबत) गर्नु, गालीगलौज गर्नु, झैझगडा गर्नु, चुक्ली लाउनु आदि कार्यहरू गर्नु हुँदैन ।
Ø   कुनै पनि कुकर्म गर्नु हुँदैन ।

रमजान महिनाभरिका थप गतिबिधिहरू:
रमजान महिनाको व्रतसँगै केही धार्मिक क्रियाकलापहरू जोडिएका छन् । सर्वप्रथम त उपवासकले उपरोक्त वर्जित कार्यहरूबाट आफूलाई बचाउने कोशिस गर्नुपर्छ । त्यसपछि उसले अधिकतम सद्कर्म गर्ने, अधिकतम नमाज अदा गर्ने, कुरआन पाठ गर्ने, अल्लाहको जप गर्ने, गरीब र निर्धनहरूलाई सहायता गर्ने आदि कार्यहरू गर्नुपर्छ । यस्ता कार्यहरूले व्रतको उद्देश्यलाई प्राप्त गर्न मद्दत गर्छन् ।

यी कार्यहरूका साथै केही प्रक्रियाहरू छन् जुन उपवासकले पूरा गर्नुपर्छ ।

तरावीह:
उपवासकहरू सूर्यास्तको एक डेड घन्टापछि रातको अन्तिम प्रहरसम्म विशेष सलात (नमाज) अदा गर्छन् जसलाई तरावीहभनिन्छ । रमजान महिनाभरि तरावीहअदा गरिन्छ । तरावीहको दौरान पूरा कुरआन पढ्ने चलन छ । तरावीहअदा गर्नु सुन्नतहो ।
एतकाफ:
कुनै पनि बस्तीमा कमसेकम एक व्यक्ति सम्पूर्ण बस्तीको हकमा अल्लाहको भक्ति र जप गर्न गुप्तवास बस्छ । यस्तो गुप्तवास प्रायः मस्जिदभित्र बस्ने आम चलन देखिन्छ । यस गुप्तवासलाई एतकाफभनिन्छ ।
रात्रि जागरम:
रमजान महिनाको तेस्रो दशांशका बिजोडी २१ औं, २३ औं, २५ औं, २७ औं र २९ औं रातमध्ये कुनै एक रात इस्लामी इतिहासमा यस्तो रात हो जुन रात अल्लाहले आफ्ना अन्तिम दूत मुहम्मद (सल्ल.) माथि कुरआन अवतरण गर्ने कार्य शुरु गरेका थिए । यस रातलाई शबे कद्रअर्थात् प्रतिष्ठित रातको संज्ञा दिइएको छ । शबे कद्रमा उपवासकहरू रातभरि जागरम बसी अल्लाहको जपमा लीन रहन्छन् । बढीभन्दा बढी कुरआन पाठ गर्छन्, अतिरिक्त (नफ्ल) सलातहरू अदा गर्छन् र अल्लाहसित आफ्ना बिगतका गल्तीहरूको प्रायश्चित गरी क्षमायाचना गर्छन् ।
सहरी:
सुर्योदयभन्दा करीब एक डेढ घन्टाअघि उपवास बस्ने व्यक्तिले केही फलफूल, खजूर वा अन्य खाद्यपदार्थ खाने गर्छ । यसलाई सहरीभनिन्छ । मुहम्मद (सल्ल.) ले सहरीमा प्रायः खजुर खाने गर्नुहुन्थ्यो ।
इफ्तार:
सूर्यास्त हुनासाथ उपवासकले खानपीन गर्छन् । यसलाई इफ्तारभनिन्छ । मुहम्मद (सल्ल.) ले इफ्तारखान शुरु गर्दा खजुरबाट शुरु गर्नुहुन्थ्यो ।
ईदुल फित्र:
ईदुलफित्र दीर्घ उपवासको नतीजामा उपवासकहरूलाई प्राप्त हुने एक विशेष खुशीको नाम हो । त्यसैले उपवाससँग यस चाडको सम्बन्ध गाँसिएको छ । हिज्री सम्बत्को नवौं महिना रमजानभरि अल्लाहको आदेश अनुसार व्रत राख्नेहरूले आफ्नो व्रत समापन गरेको खुशीमा दसौं महिना शव्वालको पहिलो दिन ईदुल फित्रमनाउँछन् । ईदुल फित्रएक विश्वव्यापी चाड हो जसलाई विश्बन्धुत्वको आधारको रूपमा समेत व्याख्या गरिन्छ । ईदुल फित्रको सम्बन्ध अध्यात्मसँग छ । यसको सम्बन्ध मानवीय भावना र नैतिक व्यवस्थासँग छ । यसले मानव समुदायलाई आफ्नो परमात्माको जपतिर उन्मुख गराईकन एक नैतिकवान एवम् आध्यात्मिक समाजको निर्माण गराउँदछ ।
ईदुल फित्रसंसारभरिका मुसलमानहरूको महान् चाड हो । इस्लाम धर्मशास्त्रले यस चाडलाई ठूलो महत्व दिएको छ । मुहम्मद (सल्ल.) ले भत्रुभयो, “अल्लाहले तिमीहरूकालागि यी दुई दिनको सट्टा ती दुई दिनभन्दा पनि उत्तम दुई दिन अज्हाको दिन र फित्रको दिन प्रदान गरेका छन् ।” (हदीस)

ईदको आर्थिक पक्ष सद्का फित्र:
ईदको अवसरमा गरीबहरूलाई विशेष दान दिइन्छ जसलाई सद्का फित्रभनिन्छ । सद्का फित्रअदा गर्नु प्रत्येक मुसलमानकोलागि आवश्यक छ । सद्का फित्रएक किसिमको दान हो जुन बिपन्न मुस्लिमहरूको हकमा छ । यो दान ईदको नमाज अदा गर्नुभन्दा पहिले नै गरीबहरूमा वितरण गरिदिनु आवश्यक हुन्छ । खास गरी ईदको केही दिनअघि नै यो रकम छुट्याई गरीबहरूलाई बाँड्नु श्रेयष्कर हुन्छ । गरीब मुसलमानहरूले पनि ईदको खुशी मनाउन पाउनु सद्का फित्रको उद्देश्य हो । इस्लामी शरीअतअनुसार भर्खरै जन्मेको शिशुको भाग पनि सद्का फित्रनिकाल्नुपर्छ । सद्का फित्रमा पौने दुई किलोग्राम जति जौ वा त्यस मूल्य बराबरको कुनै चिज वा नगद अदा गर्न सकिन्छ ।
त्यस्तै मुसलमानहरू रमाजानका महिनमा जकात दिने गर्दछन् । निश्चित प्रतिशतमा निकालिने जकात अनिवार्य प्रकृतिको दान हो । उनीहरू आफ्नो सम्पत्तिको साढे दुई प्रतिशत धन गरीबलाई दिन्छन्

चन्द्रोदयको प्रतीक्षा:
रमजान महिनाको प्रथम चन्द्रमाको दर्शनका लागि उनीहरू लालायित रहन्छन् । रमजान महिनाको चन्द्रोदय भएपछि त्यसतिर फर्केर अल्लाहसँग स्तुति गर्छन्, ‘हे चन्द्रमा ! तिम्रो र मेरो मालिक एउटै अल्लाह हुन् । तिमी सही दिशा निर्देश गर्ने भलाइको चन्द्रमा हौ । हे अल्लाह ! यस महिनालाई हामीमाथि शान्ति र आस्था, सुधार र आज्ञापालन तथा आफ्नो शक्तिको प्रेरणासाथ आरम्भ गर ।

चन्द्रमा हेर्ने कार्य बडो उल्लासमय हुने गर्दछ । आकाशमा बदली भएको बेला वा चन्द्रमा नदेखिने स्थितिमा मुसलमानहरू अन्यौलमा पर्दछन् । एउटै देशमा बस्ने नेपाली मुसलमानहरूले एउटै शहर र जिल्लामा बेग्ला बेग्लै दिनमा ईद मनाएका उदाहरणहरू पनि छन् । विकसित प्रविधिको युगमा अचेल भारत, पाकिस्तान र खाडी मुलुकहरूबाट प्रत्यक्ष चन्द्रोदयको अवलोक गरेको खबर आउन थालेको देखिन्छ । केही वर्षअघि काठमाडौंमा मुस्लिम समुदायले ईदको चन्द्रमा हेर्न हिलाल कमिटी गठन गरी हेलिकप्टर चार्टर्ड गरेरसमेत ईदको चन्द्रमा हेर्ने गर्थे । 


ईदको चन्द्रमा उदाउने दिन साँझमा मुस्लिम बस्ती र मुस्लिम आवादी रहेका शहरहरूमा खूवै चहलपहल हुन्छ । बालिबालिकाहरू खुशीले मन्त्रमुग्ध हुन्छन् । मुसलमानहरू एकअर्कालाई ईद मुबारकभन्दै ईदको बधाई दिन थाल्छन् । ईद मुबारकको आवाज सर्वत्र गुञ्जिन्छ ।


ईदको सलात (नमाज):
ईदको सलात (नमाज) अदा गर्न मुसलमानहरू बस्ती वा शहरबाट बाहिर कुनै चौर वा ईदगाहमा जम्मा हुन्छन् । अपरान्हभन्दा पहिले खास गरी बिहानको समयमा ईदको सलातका लागि मुसलमानहरू यस्ता चौर वा ईदगाहमा जम्मा हुन्छन् । ईदगाह वा यस्तो मैदान उपलब्ध नभएका ठाउँहरूमा मस्जिदमा नै एकत्रित हुने चलन छ । एमामको पछाडि विभिन्न पंक्ति बनाई उभिन्छन् । ईदको सलात महिलाहरूका लागि जरुरी छैन ।

विशेष तकबीर:
मुसलमानहरू ईदको दिन दिनभरि अल्लाहु अक्बर, अल्लाहु अक्बर, ला इलाह इल्लल्लाहु, अल्लाहु अक्बर, अल्लाहु अक्बर व लिल्ला हिल् हम्दभन्ने मन्त्र गुन्गुनाउँछन् । यसको अर्थ हुन्छ– ‘अल्लाह सवभन्दा महान् छन्, अल्लाह सवभन्दा महान् छन्; छैन कोही उपास्य सिवाय अल्लाहको; अल्लाह सवभन्दा महान् छन्, अल्लाह सवभन्दा महान् छन्; र सारा प्रशंसा अल्लाहकै लागि हुन् ।

नयाँ वस्त्र र खुश्बू:
ईदको दिन गरीबहरूको घरमा पनि खुशीको माहौल हुन्छ । नयाँ नयाँ लुगा र खुश्बू लगाउने आम चलन छ । ईदको दिन नयाँ लुगा र खुश्बू लगाउनु सुन्नतपनि हो । ईदको दिन बिहान नुहाइधुवाइ गरी नयाँ नयाँ लुगा र खुश्बू लगाई मानिसहरू ईदको नमाज अदा गर्न ईदगाहतिर प्रस्थान गर्छन् । बालबालिकाहरू पनि नयाँ नयाँ पहिरनमा सजिएर ईदगाह पुग्छन् । ठूलाबडाले बालबालिकाहरूलाई ईदीभनेर नगद रकम र अन्य उपहारहरू दिने गर्छन् ।

शुभकामना आदान प्रदान र खानपीन:
ईदको दिन प्रभातकालदेखि नै गाउँ, शहर सवैतिर मुस्लिम बस्तीहरूमा निकै चहलपहल बढेको हुन्छ । उनीहरू एकअर्कालाई ईद मुबारकभन्दै ईदको शुभकामना आदान प्रदान गरिरहेका हुन्छन् ।
ईदको नमाज सिद्धिनासाथ मुसलमानहरू एकअर्कासँग अंगालो हालेर र हात मिलाउँदै खुशी साटासाट गर्छन् । आफन्त र साथीभाइहरूसित भेटेर ईद मुबारकभन्दै खुशीको साटासाट गर्छन् । यस शुभकामना साटासाटको चहलपहलले गाउँ, बस्ती र शहर रोमाञ्चित भएको हुन्छ । ईद मुबारकको आवाज सर्वत्र गुञ्जिएको हुन्छ ।
संसारभरिका मुस्लिमहरूझैँ नेपालका मुस्लिमहरू पनि हर्षाेल्लासकासाथ ईद मनाउँछन् । नेपालको सन्दर्भमा ईदको नमाज अदा गरी ईदगाहबाट फर्केपछि मानिसहरूले इष्टमित्रलाई बोलाई जलपान गराउँछन् । त्यस दिन उनीहरू एकअर्कालाई सेवईभन्ने एक खास परिकार खान दिन्छन् । नेपालमा ईदमा कतै सेवई र दूध मात्र खान दिने चलन छ भने कतै मासु, पुलाव, बिरयानी, भात, रोटी, तरकारीका विभिन्न परिकार, सलाद, फलफूल, मिठाई आदि खान दिने प्रचलन छ ।

ईद मिलन कार्यक्रम:
ईदको उपलक्ष्यमा मुसलमानहरूले ईद मिलन कार्यक्रमहरू गर्ने चलन देखिन्छ । कतिपय ठाउँमा ईद मिलनको कार्यक्रम गरी गैर मुस्लिमहरूलाई सामूहिक रूपमा आमन्त्रण गरी खानपीन गर्ने, ईदको शुभकामना आदान प्रदान गर्ने चलन देखिन्छ । नेपालमा मुस्लिमहरूका संघसंस्थाहरूले पनि ईद मिलन कार्यक्रमहरू गरेको पाइन्छ । ईद मिलन कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र नेताहरूलाई बोलाउने प्रचलन नेपालमा देखिएको छ ।

ईदगाह:
मुस्लिमहरू वर्षको दुईपटक मात्र ईदको सलात (नमाज) अदा गर्दछन्, पहिलो ईदुल फित्रको र दोश्रो ईदुल अज्हाको सलात । ईदका सलातहरू बस्तीबाहिर खुल्ला चौरमा अदा गरिन्छ । यस्ता खुल्ला मैदान उपलब्ध नभएको स्थानहरूमा बस्तीभित्रै मस्जिदमा पनि ईदका सलातहरू अदा गरिन्छन् । नेपालको सन्दर्भमा खास गरी शहरी क्षेत्रहरूमा शहरबाहिर खुल्ला मैदानमा ईदको सलात अदा गर्नलाई मैदान बिरलै पाइन्छ । त्यसैले यस्ता मैदान उपलब्ध नभएका ठाउँहरूमा मस्जिदमै ईदको सलात अदा गरिन्छन् । काठमाडौंमा मस्जिदभित्र नै ईदका सलातहरू अदा गरिन्छन् । यद्यपि तराई र पहाडी क्षेत्रहरूमा मुसलमानहरूले प्रायः बस्तीबाहिर ईदको नमाज अदा गर्ने मैदानको व्यवस्था गरेका पाइन्छ । यस्ता मैदानमा उनीहरूले ईदगाहको निर्माण गरेको पाइन्छ ।

ईद र कुरीति:
मुस्लिम समुदायको लागि ईद खुशीको एक विशेष अवसर हो । यस दिन खुशी मनाउने र अल्लाहको स्तुति गर्ने गर्नुपर्छ । इस्लाम एउटा प्राकृतिक र अनुशासित धर्म भएकोले अल्लाहले दुःख र खुशी दुवै मनाउने तरीका निर्धारण गरिदिएको छ । मानिसको जिन्दगीमा खुशीसँगै दुःख पनि हिंडिरहेको हुन्छ । त्यसैले अल्लाहले मानव जातिलाई प्रदान गरेको यस खुशीको दिनलाई उनले दिएको तरीका अनुसार मनाउने हो भने मात्र यसको सही लक्ष्य हासिल हुन हुनसक्छ । मानिसले लिने एक महिने व्रत र आफूप्रतिको लगावबाट प्रसन्न भएर नै यस दिनलाई अल्लाहले खुशीको दिनको रूपमा मनाउन भनेका छन् । यसको सम्बन्ध अल्लाहको प्रसन्नतासँग गाँसिएको छ । त्यसैले यस खुशीको अवसरमा मदिरा सेवन गरी नाच्ने, गाउने, सिनेमा हेर्ने, विभिन्न खेलको आयोजना गरी सट्टेबाजी गर्ने, जुवा खेल्ने, प्रेमिकासँग डेटिंगमा जाने आदि इस्लामले वर्जित गरेका कार्यहरू गर्नु कुरीति हो र इस्लामको उल्लंघन हो । मुस्लिम समाजमा केही मात्रामा र कतै कतै यस कुरितिले घर बसाउँदै गएको कुरालाई नकार्न सकिन्न ।

ईदमा सरकारी विदा:
नेपालमा लगभग एक दशकदेखि मुस्लिम समुदायको ईदुल फित्रईदुल अज्हाको उपलक्ष्यमा प्रधानमन्त्री र पछिल्ला वर्षहरूमा राष्ट्रपतिले समेत औपचारिक शुभकामना सन्देशहरू दिन थालेका छन् । यसले मुसलमानहरूको उत्साह र खुशीलाई बढाएको छ । नेपाल धर्मनिरपेक्ष र गणतन्त्रात्मक राष्ट्रको रूपमा घोषणा भइसकेपछि यी दुई चाडका दिन सार्वजनिक विदासमेत दिने गरिएको छ ।
(लेखक व्यवस्थापिका संसद सदस्य तथा राष्ट्रिय मुस्लिम संघर्ष गठवन्धनका महासचिव हुन्)

प्रकाशित मिति: ३१ जेष्ठ २०७३ 

Comments