कथा: यो कस्तो समय

राज चुवान 
ऊ हसिलो अनुहार लिएर गाउँ पसेको थियो । भुकम्पमा आहत परेकाहरुलाई समेत केही राहत बाँडेको थियो । तर कसैलाई उस्को वास्तविकता र पृष्ठभुमि थाहा थिएन र थाहपाउनु पनि थिएन । बिस्तारै ऊ परिचित बन्दै गयो । मिजासिलो बानी र सहयोगी मनको कारणले उसले गाउँको नै हृदय जितेको थियो । भुकम्प पिडितहरुको मलम बनेको थियो । र केही समय मै उसले  त्यहि गाउँमा एउटी महिलासंग बिबाह पनि गर्यो । समय चक्र अगाडि बड्दै गयो । बेरोजगार, असहाय ,गरीब र अशिक्षाबाट गुज्रिएको समाजमा उसले  रोजगारको अवसरको रूपमा आफ्नो योजना सुनायो र आफू त्यहि शहरमा धेरै बर्ष काम गरेर फर्केको र आम्दानी निकै भएको सुनायो र आफ्नो जीवन संगीनीका साथ् पून: जान चाहेको पनि जिकिर गर्यो । साथै कम्पनी धेरै ठूलो रहेको र महिलाको हित र अधिकारको मात्र काम गर्ने र विशेष गरि स्वयंसेवकको रुपमा धेरै युवती आवस्यकता रहेको पनि बतायो ।
 गाउँ पिछडिएको थियो ,ज्ञानको कमि थियो ,लोभमा पुरै गाउँ पर्यो । उस्ले गाउका सबै युवतीलाई रिजर्भ गाडीमा हालेर एकहप्तासम्म दिन र रात गरेर धेरै टाढा पुर्यायो । ठूलो शहर थियो। कहिल्यै नदेखेको ठुला-ठुला महल झिली-मिलि शहर । गाउँमा जन्मे हुर्केका युवतीहरुलाई अनौठो र अचम्म लाग्यो। समय आफ्नै गति मा चल्दै गयो ।
गाउँबाट  शहर पसेकोपनि दुई हप्ता बिती सकेको थियो, शहरमा आफ्नी श्रीमती र युवतीहरुलाई छोडेर गएको ऊ फर्केर नआएकोमा सबै चिन्तित थिए। । जानु कहाँ जानु सोध्नु कसलाई सोध्नु? सबै चिन्तित र अन्यौलमा बस्न बाध्य थिए,तर चिताले धेरै धर लिन पाएन ऊ फर्केर आयो साथमा केहि काला, मुन्द्रा लगाएका, हातमा ठूला ठुला बाला लगाएका मानिसहरुको जत्था लिएर ऊ आयो। विचारीहरुलाई अरु सित के वास्ता जो आफ्नो हो ऊ त आयो!
आफुसित आएका ५ जना मुन्द्रेहरुलाई आफ्नी अर्धांगिनी सहित पाँच-पाँच जनाको दरले भाग लगाई जिम्मा लगायो र आफुपनि पछि पछि आउने भनी ऊ फेरी हिंड्यो।
सबैलाई गाडीमा हालेर मुन्द्रेहरू शहरको कुनाकुना हुँदै गुडे । युवतीहरुमा अन्यौलता त थियो नै बिस्तारै मन छटपटाउन थाल्यो बोल्ने के? कोसँग के भन्ने सबै डर लाग्दा थिए अनि कहाँ लगिंदै थियो कसैलाई थाहा थिएन ।  कसैले केही बोल्न सकेनन् सबै भयभित बन्दै थिए, आँखामा आँशु टप्की रहेका थिए ।
मोफसलमा गीत बजिरहेको थियो 'ये मुम्बई है, जो जिता वोहि सिकन्दर'
ऊ भने नेपाल आइसकेको थियो । पहिरोबाट पिडित गाउँमा ऊ समाजसेवि बनेको थियो । उसलाई सम्मान गर्नेको लाइन नै थियो।
गाउँमा ऊहरेक काममा अगाडी थियो ।देश विदेश घुमेको ऊ गाउँलेको नजरमा विद्वान नै थियो । समाजको लागी ज्यान नै दिएर उसले धेरै  काम गर्थ्यो । एक पटक गाउमै पानीको धेरै समस्या थियो । पानीको मुल नभएकोले कोसौं पर गएर पानी ल्याउनु पर्थ्यो । यो समस्या गाउँकै गहन समस्याको रुपमा थियो । ज्ञान र साक्षरताको कमीले समस्या हल हुन सकेको थिएन ।गाउँ युद्दले पिडित भएकोले राज्यको कुनै उपस्थिति पनि थिएन । तसर्थ उसले  आफ्नै खर्चमा गाउँमा सानो पानीको रिफाइनरी बनाई दियो । गाउँमै यसरी पानी पिउन पाउँदा गाउँलेहरु दङ्ग थिए ।
हो , आज गाउँमा विशेष समारोह थियो । उसलाई  सम्मान गरिंदै थियो । सोझा गाउँलेहरुले उसलाई भगवानको उपमा दिई रहेका थिए । नदिउन पनि कसरी, गाउँमै बसेर उसले  गाउँको र गाउँलेहरुको सेवा गरेको थियो
गाउँलेहरु को हातमा आज जे परेको थियो  त्यो उसैको देन थियो । सबको हात हातमा पचास हजार बाँडेको थियो उसले। गाउँलेहरु आफ्नो घर रंगाउन थालेका थिए । बिना परिश्रमनै हात हातमा पैसा परेकोले गाउँलेहरु गर्वले गदगद भएक थिए ।
समय आफ्नै क्रममा चल्दै थियो । एकदिन उसलाई  खोज्दै  प्रहरीको टोली नै गाउँ आई पुग्यो । तर गाउँमा ऊ कतै देखा परेन । गाउँलेले ऊ  गाउँ नआएको महिना दिनभन्दा बढी भएको बताए । प्रहरीले केही गाउँलेको कोखाको फोटो पनि लियो केहि सोधपुछ पछि प्रहरी आफ्नो बाटो लाग्यो । तर उस्को कानोकान खबर भएन । गाउँले एकअर्काका मुख हेराहेर गर्न थाले भने कोई कोखाको देब्रे पट्टी करिब ५ इन्च लामो अप्रेसनको डाम हेर्न थाले । भोलिपल्ट अखबारको मुख्य पन्नामा समाचार छापिएको थियो "चिनकोट गाउँकै मिर्गौला तसकर " साथमा प्रहरीले खिचेको ती गाउँलेका फोटाहरु पनि थिए । उस्को कसैले खबर राख्न सकेको थिएन । प्रहरीसँग पनि उस्को कुनै वास्तविक अनुहार थिएन । कसैसँग पनि उस्को वास्तविक अनुहार छैन ।
……………..
उस्ले झुस्स दारी पालेको थियो । कपाल खैरो पारेको थियो ।शुट-बुटमा उ खैरे जस्तो देखिन्थ्यो । शहरको एउटा ठूलो होटेलमा आज उस्को ठुल्लै कार्यक्रम राखेको थियो । अङ्ग्रेजीमै उस्ले प्रवचन गर्दै थियो ।शहर धेरै ठुलो थियो । ठुला बडाहरुको उपस्थिती थियो । ताली र गडगडाहटले होटेल रङमय बनेको थियो ।


Comments