मुस्लिम गठवन्धनको नैतिकता

करिम बक्स मियाँ

विचार-
हडबडी  के ब्याह कनपट्टी मे सिन्दुर भने झैं मधेसी मोर्चासित मिलेर गरेको आन्दोलनले यतिखेर राष्ट्रिय मुस्लिम संर्घष गठवन्धनलाई “न्याउरी मारी पछुतो” भएको छ । २०७२ भाद्र ३० गते जारी भएको संविधानलाई अस्वीकार गर्दै आन्दोलनमा होमिएका मधेसी दलहरुसित मिलेर आन्दोलित हुनु मुस्लिम गठवन्धनलाई यतिखेर महँगो सावित भएको छ ।
मधेसी मोर्चाले संविधानलाई पूर्णरुपमा अस्वीकार गर्दै क्षत्रीय मुद्दा बोकेर आन्दोलनमा होमिंदै गर्दा मुस्लिम गठवन्धन्ले आफुलाई मोर्चाको एउटा घटक  मानेर आन्दोलनमा जानु उचित हुन्थ्यो कि हुन्थेन भन्ने पहिलो कुरालाई ध्यान दिन नै सकेन । तत्कालिन अवस्थामा अकस्मात जसरी मुस्लिम गठवन्धनले मधेस केन्द्रित आन्दोलनमा सामेल भयो त्यो समग्रमा गठवन्धन नेतृत्वको अदुरदर्शिता, हतास र हतारिएको मानसिकताको उपज थियो ।
राष्ट्रिय मुस्लिमसंर्घष गठवन्धन समेतको संलग्नतामा जब मधेस आन्दोलन चकिर्यो मुस्लिमसमुदायभित्र यसको औचित्यबारे बहस भयो । मुस्लिमगठवन्धनले मोर्चासित मिलेर  गरिएको आन्दोलन अर्थहिन र मुस्लिमसमुदायको मर्म र भावना विपरित हो भन्ने तर्क राख्नेलाई मधेस र पहाडको बिभाजित र वर्गीकृत आँखाले हेरियो ।
संविधानले मुस्लिम समुदायको मागहरु “आंशिक” रुपमा मात्र सम्वोधन गरेको निस्कर्ष निकालेको गठवन्धन सुझबुझ बेगैर संविधान अस्वीकार गरेकाहरुसित मिलेर आन्दोलनमा जानुलाई गलत हो, संविधानमा उल्लेख भएका अधिकारको सही अध्ययन गरेर नसमेटिएका अधिकार प्राप्तिको लागि त्यही अनुसारको तयारी  गर्नु पर्छ भन्नेहरुलाई मुस्लिमसमुदायको “अहित” चाहेको लाञ्छना लगाइयो, तर केही दिनमा मुस्लिम गठवन्धनले मोर्चासितको सहकार्य तोडेर “अराजक” आन्दोलनको संज्ञा दिंदै मुस्लिम समुदायले छुट्टै आन्दोलन गर्ने घोषणा सहित आन्दोलनबाट फिर्ता भयो ।
दुर्भाग्य त के भने गठवन्धनले संविधानमा नसमेटिएका मुद्दालाई न पोइन्ट आउट गर्न सकेको  छ,  न त आफ्नैप्रकृतिको आन्दोलन नै गर्न सकेको छ, लज्जाको बिषय त के भने मधेस आन्दोलनमा जानु र फकिर्नुको औचित्य पुष्टि समेत गर्ने आँट देखाउन सकी रहेको छैन ।
गठवन्धनको नाममा आन्दोलनमा ज्यान गुमाउनेहरुको “सहादत” को अर्थ मधेस कि मुस्लिम यो पनि अनुत्तरित भएर गएको छ । आन्दोलनको एजेन्डा मै “नाकावन्दी” गरिने उल्लेख गरेको मधेसी मोर्चासित मिलेर किन आन्दोलनमा  सरीक भयो गठवन्धन ?  फेरि अकस्मात गठवन्धनले मोर्चासितको आन्दोलनबाट अलग्गिएको घोषणा किन गर्यो ? राष्ट्रिय ताको आ–आफ्नैपरिभाषा होलान्, तर गठवन्धनको अदुर्दर्शिता, अकर्मण्यता र हतारो मानसिकताले मुस्लिम समुदायको राष्ट्रिय  स्वाधिनतामाथि कहीं न कहीं क्षति पुगेको छ ।


नेपालमा बसोबास गर्ने मुस्लिम समुदायको कुल जनसंख्याको करीव ९२ प्रतिशतभन्दा बढी मुस्लिमहरु तराई मधेसमा बसोबास गर्दछन् भन्ने तर्कलाई बढावा दिएर आन्दोलनमा सहभागी हुनुलाई सार्थक मानिएको हो भने नेपाली मुस्लिम समुदायको राष्ट्रिय  छविमाथि हिलो छ्याप्ने काम भएको छ भन्ने बुझ्न राष्ट्रीय मुस्लिमसंर्घष गठवन्धनको स्थापनाकाल तर्फ फकिर्नु जरुरी छ ।

यो गठवन्धन स्थापनार्थ कसरी, कसले र किन पहलकदमी ग¥यो, घटना परिघटना, माग र मुद्दाहरुपनि धेरै होलान, तर विभिन्न तह र तप्कामा छरिएर रहेका “झुण्डे मुस्लिमसमुह” लाई गठवन्धनको दायरामा ल्याउन बल दिएको यहाँ एउटा मात्र प्रस‌ग कोट्याउन चाहन्छु ।
प्रचण्ड प्रधानमन्त्री भएको बखत एउटा अध्यादेश ल्याइयो जसमा मुस्लिम समुदायलाई मधेसी कोटामा सुचिकृत गरियो । यो अध्यादेशको नेपाली मुस्लिम समुदायले खुलेर विरोध मात्र गरेनन् विभिन्न राजनैतिक दलमा आवद्व  मुस्लिमसंगठन लगायतका मुस्लिमसमाजहरुले संयुक्त रुपमा आन्दोलनपनि गरे । भने मुस्लिमसमुदायको आवाजलाइ राज्यले सुन्यो र अध्यादेश स्थगन गर्यो । जुन आन्दोलनलाई नेपालको राजनैतिक
ईतिहासमा मुस्लिमसमुदायले गरेको पहिलो र सफल आन्दोलन भनेर बुझिन्छ, उक्त आन्दोलनमा तराई मधेसका मुस्लिमसमुदायले खेलेको भूमिका र योगदान अतुलनिय छ । जब राज्यले हामीलाई कुनै निश्चित क्षत्र संगत वर्गभित्र सुचिकृत प्रयाश गर्यो हामीले आन्दोलन  गरेर राज्यलाई दबाब दियौं र भन्यौं कि “हामी मधेसी होइनौं, हाम्रो राष्ट्रिय  चिनारी छ,  हामीलाई नेपाली मुस्लिमभनिनु पर्छ, हाम्रा मुद्दालाई राज्यको समग्र चारकिल्लाबाट परिभाषित गरिनु पर्दछ ।”
एउटा अध्यादेश (जुन संविधानको धारा होइन) को विरोधमा हामी देश भरीका मुस्लिमले एक आवाजमा भन्यौं– हामीलाई भुगोलले नबाँड । हामीले भन्यौं हामीलाई अरुको अधिनमा राखेर चिनारी नदेऊ । हामीले भन्यौं हामी केवल नेपाली मुस्लिम हौँ ।  हो, राष्ट्रिय  राजनीतिमा एकताको खडेरी परेको बेला हाम्रो मुटुमा एकताको रक्तसंचार भयो र केही कालखण्ड र परिवेशलाई जित्दै मिलाउँदै राष्ट्रिय  मुस्लिम संघर्ष गठवन्धनले विशाल आकार लिन सक्यो । तर आन्दोलनको नाममा “नाकावन्दी” शव्दावलीमा मोहित भएर हामी मधेस केन्द्रित आन्दोलनमा किन गयौं ? किन  फेरी आन्दोलनलाई अराजक भनेर हामी फिर्ता भयौं ? यसको उत्तर कसले दिने हो ? मुस्लिमअन्तरमनले संविधान स्वीकार्य मान्ने वा अस्वीकार्य यसको उत्तरपनि उधारो नै छ ।


नेपाली मुस्लिम समुदायको आवाज जसले जसरी व्याख्या गरेपनि सारांशमा पृथक पहिचान सहित गैर भौगोलिक प्रान्तको आधारमा एउटा नेपाली नागरिकले पाउनु पर्ने सम्पूर्ण अधिकार, अधिकार सम्पन्न मुस्लिमआयोग, राजनैतिक, आर्थिक तथा सामाजिक पहु“च तथा सहभाहिताको सुनिस्चितताको लागि समानुपातिक समावेशी सिद्वान्तको प्रत्याभूति, धार्मिक निरपेक्षता, मुस्लिमपर्सनल बोर्ड  नै हो ।

नेपालको संविधान २०७२ ले कसैलाई समेटेको छैन अर्थात कसैलाई छोडेकोपनि छैन । मुस्लिम समुदायका कति  अधिकार समेटिए कति  समेटिएनन् त्यसको अध्ययन एउटा पाटो हो भने सबैभन्दा महत्वपूर्ण  भनेको नसमेटिएका अधिकारलाई संविधानमा समेट्न दिइने दबाब आन्दोलन कि अन्य विकल्पको खोजी भन्ने नै हो ।
समग्रमा लोकतान्त्रिक अभ्यासमा अधिकार लिने माध्यम आन्दोलनपनि हो, तर राष्ट्रलाई बन्धक बनाएर कसैलेपनि गर्ने आन्दोलन क्षम्य हुँदैन । राष्ट्रिय  मुस्लिम संर्घष गठवन्धन वास्तव मै नेपाली मुस्लिम समुदायको एकता, पहिचान र अधिकार स्थापित गराउने माध्यम हो भने राष्ट्रप्रति इमानदार भएर आत्मालोचना गर्नु पर्दछ ।
“मुस्लिम” ईस्लामको आदर्शले सिर्जेको समुदायको नाम हो । “कुरानलाई मनमा राखेर राष्ट्रलाई शीरमा सजाऊ” भन्ने इस्लामको निर्देशित शिक्षाको अनुशरण गर्ने सद्बुद्वी सबैमा पलाओस् । –आमीन

Comments