पाँच सय वर्ष पुरानो जामे मस्जिदमा एक दिन




फातिमा बानु,
काठमाण्डौ। बिहान चार बजे नेपाली जामे मस्जिदको मुख्य द्वार खोलिन्छ । यो जिम्मेवारी मस्जिदका सुरक्षागार्ड केशव कार्कीलाई दिइएको छ । एकाबिहानै मस्जिदमा फजिरको नमाज (बिहानको प्रार्थना) पढ्न मुसलमानको भीडभाड लाग्छ । बिहान साढे चार बजे फजिरको नमाज पढिन्छ । नमाज पढ्नु आधा घन्टाअगाडि मोजिल अब्दुल वाहिदले माइकमा अजान (नमाजका लागि दिइने सूचना) दिन्छन् ।

अजान भएको ३० मिनेटभित्र नमाजी अनिवार्य भेला भइसक्नुपर्ने हुन्छ । नमाजी भेला भएपछि उनीहरू उजु (हात, मुख, खुट्टा धुने) गर्छन् । उजुका लागि मुख्य मस्जिदको भुइँतलामा ३० धारा व्यवस्था गरिएको छ । कोही त्यतै लाग्छन् । कोही मस्जिद परिसरभित्र रहेको तलाउमा गएर हातखुट्टा पखाल्छन् । साढे चार बजे प्रार्थना सुरु हुन्छ । इमाम (गुरु) मोहसिनले बिहानको नमाज पढाउँछन् । उनी अगुवा भएर उभिन्छन् । नमाजी भने उनका पछाडि उभिएर उनको सिको गर्न थाल्छन् । बिहानको नमाजमा ५० जना मुसलमान भेला हुन्छन् । उनीहरू मस्जिदछेउछाउमा बसोबास गर्ने मुसलमान हुन् । काठमाडौँको बागबजार, असन, सुन्धारा जमलका मुसलमान बिहानको नमाज पढ्न जामे मस्जिद पुग्छन् । नमाज पढ्न आउनेमा सबै उमेर समूहका हुन्छन् । तर, महिला भने हुँदैनन् ।
मस्जिद परिसरभित्र एउटा होस्टल छ । जहाँ केटाहरू मात्र बस्छन् । नमाज पढ्न होस्टलमा बस्ने बच्चा र मौलाना (गुरु) पनि जम्मा हुन्छन् । होस्टलमा २५ जना बालक बस्छन् । उनीहरू हिब्स (कुरान कण्ठस्थ) गर्न त्यहाँ बसेका हुन्छन् ।
करिब १५ मिनेटमा बिहानको नमाज पढेर भ्याइन्छ । त्यसपछि कुरान पढ्न थाल्छन् । लामबद्ध भएर मुसलमान कुरान पाठ गर्छन् । भेला भएका जति सबैलाई मस्जिद व्यवस्थापन समितिले नै कुरान उपलब्ध गराउँछ । बिहान कुरान पढ्नुलाई इस्लाम धर्ममा शुभ मानिन्छ । करिब दुई घन्टाको कुरान पाठपछि मस्जिदबाट बाहिरिन्छन् । त्यसपछि मस्जिद सरसफाइ गरिन्छ । दुई महिला र दुई पुरुषलाई मस्जिद सरसफाइ गर्ने जिम्मा दिइएको छ । बिहान नौ बजेभित्र मस्जिद परिसरभित्रका सबै द्वार खुलिसक्छन् । त्यस्तै, स्कुल र कार्यालय खुलिसक्छन् । १० बजे स्कुलको घन्टी बज्छ । मदरसा स्लामियाँ स्कुलमा पढाइ सुरु हुन्छ । मदरसामा माध्यमिक तहसम्मको पढाइ हुन्छ । त्यहाँ दुई सय ७५ मुस्लिम विद्यार्थी अध्ययनरत छन् ।
दिउँसो एक बजे फेरि नमाज अजान गरिन्छ । हाफिज समिउल्लाहलाई दिउँसोको अजान दिने जिम्मा दिइएको छ । तीन मिनेटको अजानपछि एकैछिनमा नमाज पढ्नेको घुँइचो लाग्छ । दिउँसोको नमाजलाई मुसलमानले ‘जोहर’ भन्छन् । जोहरको नमाजमा सयदेखि एक सय ५० जना मुसलमान भेला हुन्छन् । त्यसमा स्कुले विद्यार्थी पनि हुन्छन् । दिउँसोको नमाज पढ्न उनीहरूलाई १५ मिनेट लाग्छ । मौलाना वली मोहम्दले दिउँसोको नमाज पढाउने जिम्मा पाएका छन् ।
नमाज सकिएलगत्तै जामे मार्केटभित्रका होटल तथा रेष्टुराँ भरिभराउ हुन्छ । मस्जिदमा कार्यरत कर्मचारी र नमाज पढ्न आएका मुसलमानका लागि खाना त्यहीँ पाक्छ । इस्लाम धर्मावलम्बी दिउँसोको नमाजपछि मात्रै खाना खान्छन् ।
दिउँसो नमाजीबाहेक अन्यको पनि मस्जिदभित्र आवत–जावत हुन्छ । कोही घुम्न आउँछन्, कोही कामविशेषले त कोही मस्जिद, मदरसासम्बन्धी अध्ययन अनुसन्धान गर्न । सबै जातजातिलाई मस्जिद परिसरभित्र प्रवेश गर्न पाउँछन् । धर्म र लिंगका आधारमा मस्जिदभित्र पस्न कसैलाई छेकबार छैन । मस्जिद परिसरभित्र रहुन्जेलसम्म आगन्तुकले मस्जिदकै नीति नियम पालना गर्नुपर्ने हुन्छ । खुला कपडा लगाएर मस्जिदभित्र पस्न पाइँदैन । हाफपाइन्ट, गन्जी लगाएका पुरुषलाई मुख्य द्वारमै रोकिन्छ । त्यस्तै, छोटा कपडा लगाएका र सल नओढेका महिलालाई मस्जिद प्रवेश निषेध गरिएको छ । मस्जिद परिसरभित्र रहुन्जेलका लागि महिलालाई मस्जिदले नै बुर्का उपलब्ध गराउँछ । मादक पदार्थ पिएकालाई समेत मस्जिद प्रवेशमा रोक लगाइएको छ ।
साँझ पाँच बजे फेरि नमाजको समय हुन्छ । जसलाई मुसलमानहरू ‘असर’ को नमाज भन्छन् । यसैगरी, अजान दिएर नमाजीलाई डाकिन्छ । एकैछिनमा नमाजी भेला हुन्छन् । साँझको नमाज छोटो हुन्छ । नमाज पढ्नेको भीड लाग्छ । इस्लाम धर्मावलम्बीको एकमहिने व्रत नजिकिइरहेकाले हिजोआज मस्जिदमै पुगेर नमाज पढ्नेको उल्लेख्य सहभागिता छ ।
साँझ पर्दै जाँदा मस्जिदमा चहल–पहल पातलिँदै जान्छ । मदरसा चार बजे नै छुटिसक्छ । जामे मार्केटभित्र सञ्चालित पसलका सटर थुनिन्छन् । होटलका ढोका ढप्किन्छन् । अनि फेरि बेलुकाको नमाज पढ्ने समय हुन्छ । बेलुकाको नमाजलाई मुसलमानहरू ‘मग्रिब’ भन्छन् । अजान बज्छ । फेरि उस्तैगरी नमाजी इमामपछाडि कहिले कानमा हात पुर्याउँछन्, कहिले घुँडामा हात राखेर निहुरिन्छन् त कहिले घोप्टिन्छन् । बेलुकाको नमाजपछि इमामले प्रवचन सुरु गर्छन् । कुरानका श्लोक र कथा सुनाउँछन् । मुसलमान भेला भएर प्रवचन सुन्छन् ।
रात परेपछि मार्केट थुन्ने काम पनि जामे मस्जिद व्यवस्थापन समितिकै जिम्मामा छ । रातको नौ बजेसम्म मार्केट खुला हुन्छ । कर्मचारी रुङ्दै बस्छन् । रातको नौ नबज्दै अन्तिम नमाजको तयारी हुन्छ । रातिको समयमा मुसलमानको सहभागिता कमै हुन्छ । मस्जिदका कर्मचारी र आसपास घर भएका केही मुसलमानको सहभागितामा रातको नमाज सम्पन्न गरिन्छ । कर्मचारी र नमाजी आ–आफ्नो गन्तव्यतिर लाग्छन् । रत्न मल्लको पालामा बनेको नेपाली जामे मस्जिद पाँच सय वर्ष पुरानो मानिन्छ । मस्जिदको रेखदेख र सुरक्षाको जिम्मा दुई सुरक्षागार्डले गर्छन् । यसरी रातको ११ बजेमात्रै मस्जिदको मुख्य द्वार बन्द हुन्छ ।
 
(साभार: रातोपाटी डटकम)

Comments