काँग्रेसमा कसले हारेमा पनि जित्नेछ ?


करिम बक्स मियाँ, दोहा 
नेपाली काँग्रेसको १३ औं महाधिवेशन यतिखेर बन्दसत्रमा छिरेको छ। आकांक्षीहरुले विभिन्न ओहोदामा उम्मेदवारी दिएका छन्। विशेष गरी देशको पुरानो र ठुलो दल भएकोले यसको नेतृत्वको चर्चा हुनु स्वाभाविक नै हो । नेतृत्वको लागि रामचन्द्र पौडेल, शेर बहादुर देउवा र कृष्ण सिटौला मैदानमा छन्। चर्चा कसले जित्ला भन्नेमा केन्द्रित रहँदा यहाँ कसले हार्यो भने कसले जित्ला भन्नेमा हुनु आवश्यक  छ। 
धेरैले के अड्कल काटी रहेका छन् भने संस्थापनबाट दुई समुह मैदानमा उत्रेकोले देउवाको जित निश्चितप्रायः छ । तर बुझ्नु पर्ने पक्ष के हो भने देउवाले जिते भने कसले हार्ला ? के पौडेलले हार्लान् ? राजनीतिमा गणितिय हिसाबमात्र गरियो भने अवश्य पनि त्यो न्यायपरक हुने छैन। 
कहिले कहीं राजनीतिमा हारेर जित्नेको महत्व बढेर आउने गर्दछ। यदि  देउवाले जिते भने गणितमा पक्कै पौडेलको हार त होला, तर जहाँ गणितको हार हुँदै गर्दा पौडेल हारेर पनि जित्ने छन्। अहिलेसम्म कुनै समुहको खुल्ला नेतृत्व नलिएका पौडेलको आफ्नो समुह हुनेछ। नेपाली काँग्रेसको बिगत र नजीरलाई हेर्ने हो भने पौडेल हारी हालेपनि पार्टीको वरिष्ठ नेता बनेर उदाउने पक्का छ। तसर्थ पौडेल हारेर जित्ने अभियानमा छन्। यसर्थ गणितिय राजनीतिमा जे भएपनि गुणात्मक राजनीतिमा पौडेलको उदय पक्का छ। 
तर यहींनेर मैदानमा उत्रेका संस्थापनको दुई समुहलाई लिएर जुन रुपमा देउवालाई काँग्रेसको आगामी सभापतिमा अडकल काटिएको छ । यदि गणितिय हिसाबमा समेत पौडेलले जित हात पारे भने देउवाको नैतिक राजनीतिको देहवशान हुने निश्चित छ। सुशील कोइरालासित पराजित भएर पाएको वरिष्ठ नेताको उपाधीलाई बिगतमा उनले बचाउन सकेनन् बरु उनी ६० ४० को खेलमा रही रहे। यसको प्रमाण देशभरीबाट छनोट भएका प्रतिनिधिको प्रक्रियाले स्पष्ट पारी सकेको छ। जहाँ देउवाले जित्दा पौडेलको उदय हुने मार्ग स्पष्ट छ, त्यहीं यदि पौडेलले  जिते भने के देउवाको हैसियत रहला ? 
रह्यो कुरा सिटौलाको उनी चारित्रिक रुपमा राजनीतिमा जति माहिर ठानिन्छन्, त्यो भन्दा बढ्ता उनी स्खलित चरित्र भएका नेता हुन् भन्ने बिगतले देखाई सकेको छ। सिटौला शक्तिकेन्द्रले सजिलै सञ्चालन गर्न सक्ने नेता हुन् भन्ने कुरा घाम जस्तै छर्लंग छ। १२ औं महाधिवेशनमा कार्यकर्ताद्धारा उती नरुचाइएका उनी २५ मध्ये २० नम्बरका केन्द्रिय सदस्य भएर पनि माओवादी लगायत वामपन्थीद्धाा रुचाइएका काँग्रेसभित्रका नेता हुन् भन्ने कुरा लुकेको विषय होइन। 
गगन थापा निःसन्देह लोकप्रिय युवा नेता हुन्। अवश्य युवाहरु नेतृत्वको मुलधारमा आउनु पर्दछ । तर १३ औं महधिवेशनमा उनी महामन्त्रीको रेसमा उत्री हाल्नु पर्ने हतारो थिएन। उनी स्पष्ट वक्ता हुन् तर राजनीतिमा बोल्न सक्ने मात्रको खुबीले पार्टीले गतिशिलता प्राप्त गर्न सक्दैन। एउटा संयोग के हो भने उनले केन्द्रिकृत राजनीतिक आन्दोलनलाई सही समयमा 'क्यास' गर्ने संयोग प्राप्त गरे । नत्र हजारौं गगनहरु नेपथ्यमा बसेर उनले भन्दा कैयौं गुणा संघर्ष गरेका प्रमाणहरु डाँडापाखामा सजिलै भेट्न सकिन्छ। 
नेपाली काँग्रेस भनेको नेपाली राजनीतिक आरोह अवरोहमा सदैव प्रमुख भूमिकामा रहेको पार्टी भएकोले यसमा आन्तरिक स्पर्धा पक्कै हुनुपर्दछ । यहाँ जित्नेले जितेर हार्नु हुँदैन, हार्नेले हारेर पनि जित्नु पर्छ। अनिमात्र काँग्रेसले जित्ने छ। 
काँग्रेसको  जितको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

Comments