कथा: चुप्पेको प्रेम समर्पण
![]() |
| -तिर्थ संगम राई |
तीन दशक अगाडिसम्म खैरेनी गाउँमा छथरबाट झरेको देवारीको जगजगी थियो । दुई छोराहरु ‘चुप्पे’र ‘नाखुङ्गे एक छोरी 'माक्सुली' को जन्मपछि देवारीको स्वास्नी मास छर्न धोविडाँडा पुगीन् । त्यसपछि देवारीको घरमा बास हुन छाड्यो । दिनरात रक्सी खाएर मात्नु उस्को दैनिकी हुन थाल्यो । स्कुलको मुख नदेखेको सन्तानहरु बिस्तारै ठुला हुदै थिए । बाबुको जीवनसैली र सामाजिक संस्कारले सबैलाइै गाउकै सिपाही बनाए । दाउरा काट्नु, मेलापात जानु, माछामार्नु उनीहरुको नित्यकर्म बन्न थाल्यो । देवारीले भएको जमिन र भस्मेपनि बिस्तारै रक्सी र सुँगुरमा साट्न थालेको थियो । एकदिन नाखुङ्गे आरा काट्न धरान हुदै चतरा पुग्यो । माक्सुली मेलापातको निहुमा सोल्टीसँग धनकुटा मौनाबुधुक बदाम खेति गर्न पुगिन् । चुप्पेको नाम चुप्पे त्यसै भएको थिएन । न्वारानको नाम चाहि सन्तमान लिम्बु हो । तर कर्मले पाएको नाम चुप्पे थियो । सानैदेखि ऊ हातमा ग्याटिस र कम्मरमा ‘रेम्वो चुप्पी' भिरेर हिड्ने गर्थ्यो । उचाई पुग अपुग पाँच फिट, वजन काट्टाकुटि गरेर पैतालीस् जति होला । अनुहारको आकार सानो, आँखा चिम्से र नाक अलिक थेप्चो समग्रमा किराति सौन्दर्य । गाउँभरीको ठिठाहरुको मुखिया थियो । सारै रिस्साहा, भङ्जाहा अर्को अर्थमा भन्नु पर्दा सन्काहा थियो । सानोसानो कुरामा पनि चुप्पी निकालेर छोप्थ्यो । तर कसैलाई चुप्पी धसेको चाहि कुनै प्रमाण थिएन । थाक्थुम्बाहरुको घनाबस्ती भएको खैरेनी गाउँमा बिवाह, भोज गर्ने आफ्नै परम्परा कायमनै छ । रातभरी तरेमा, तरेबाहरुसँग धान नाच, च्याब्रुङ र पालमले गाउँ घन्किनु यसको बेग्लै आनन्द छ । कतै बिहेमा होस् या भोजमा चुप्पेको उपस्थीति अनिवार्य हुने गथ्र्यो । राँगा छिनाल्नु होस् या सँगुर घोच्नु चुप्पे नै पहिलो नंम्बरमा पथ्र्यो । त्यो वापत मुटु-कलेजो उसको शीर उभ्याउनी हुनुपथ्र्यो । त्यो भएन भने कम्मरमा छदै थियो रेम्वो चुप्पी । गाउँ पञ्चायतभरी रेम्वो चुप्पी र सन्तमान प्रख्यात थिए ।
एकदिन ‘खोम्माकी’को बिहे भयो सारा गाउँ खुसी थियो, तर चुप्पे बहुत दु:खी थियो । नहोस् पनि कसरी ऊ आफुले बिहे गरुँला भनेको केटिको बिहे अरुसँग भएको थियो । त्यस बिहेलाई चुप्पेको रम्वो चुप्पीले पनि रोक्न सकेको थिएन । कारण के थियो भने— धेरै पहिला लिम्बु समाजमा बिहेको एउटा रमाईलो चलन थियो । आफुलाई मन परेको कुनै केटीलाई केटाले तानेर बिहे गर्न सक्थ्यो । माईती पक्ष र केटा पक्षमा तानातान हुँदा जस्ले जित्छ केटी उतै जानु पथ्र्यो । अंझ यो भन्दा रमाईलो त के थियो भने, हाटबजार होस् या कुनै बिवाह भोज कार्जे । त्यहाँ माईतिहरुलाई रक्सी राखी दिएर उनीहरुको चेलीहरुसँग केलाङ अर्थात धान नाच्नको लागि सम्मानित प्रस्ताव राखिने गरिन्थ्यो । त्यसरी गरिएको प्रस्ताव सामान्य देखि बिहेकोसम्म हुने गथ्र्यो । केटा पक्षले जिते बिहे गर्ने र केटी पक्षले जिते हलि बस्नेसम्म हुन्थ्यो । यहि धान नाँच्दाको मारमा परेको थियो चुप्पे प्रेम । माघे संक्रान्तिमा चिसाङ खोला र भुवा खोलाको दोभानमा सालैनी तीन दिने देउलिङे मेला लाग्ने गर्छ । हज्जारौं मान्छेहरुको घुईचो हुने गर्छ । केहि पैकार गर्न, केहि तासजुवा खेल्न, केहि रमाईलो गर्न जान्छन् भने धेरै बिहे गर्न जाने गर्छन् । त्यहि मेलामा खैरेनीका सबै तन्नेरी र तरुनीहरु पनि गएका थिए । चुप्पेलाई त्यहि मेलाबाट खोम्माकीलाई तानेर ल्याउने साथीहरुले सुझाएका थिए । तर चुप्पेलाई त्यति बेलासम्म हिन्दी फिलिमको राजेश खन्नाको भुतले छोई सकेको थियो । खोम्माकीलाई प्रेमनै गरेर बिहे गर्ने हुट्हुटिले समाए थियो । यता खोम्माकी पनि चुप्पेको सबै बानी व्यहोरा थाहा पाएर पनि मन पराउथिन् । राति १० बजे सबै देउलिङे मेला पुगे । गाउँका चेलीहरुले आफैले पारेको कोदोको रक्सी बोकेका थिए । चुप्पेले रातिनै भए पनि दुईवटा सुँगुर घोच्यो । शिकारी भाग अर्थात शीर उभ्याउनी मुटुकलेजो ल्यायो । केहिले दाउरा भेला पारे । खोम्माकीले मासु पोली । सबैले रक्सीसँग खाए ।
रातको १२ बजेको हुनुपर्छ । चुप्पे तासको बहालमा बस्यो । केटीहरु रीतपुर्वक धान नाच्न थाले । मेला रातभरी सुतेको छैन । खोलाको चिसो हावा र कोदोको रक्सी दुवैको युद्ध । बिहान झिस्मिसेमा पुन्द्रुका कराउदै आईपुग्यो । 'हाउ लुङ्गा, खोम्माकीलाई तरेवाहरुले तान्दैछन्' चुप्पे रेम्वो चुप्पी समाउदै उठ्यो, 'कता खै कहाँ आखे चोक्माबी साँठ्ठाहरुलाई ।' एकै सासमा चुप्पे खोम्माकीलाई केटाहरुले घिसारी रहेको ठाउँमा पुग्यो । अफसोच चुप्पेले केहि गर्न सकेन । केटाहरुले चौबिसे खुकुरी उज्याएर वरीपरीबाट खोम्माकीलाई घिसारी रहेका थिए । बिचरी खोम्माकीको आँखामा सहयोगको याचना र चुप्पेप्रतिको अथाह प्रेमले थियो । तर, चुप्पेको रेम्वो चुप्पीले केहि काम गरेन । चुप्पे निरीह ठिङग उभिरह्यो । उस्को हातमा छ ईन्चको रेम्वो चुप्पी त थियो, तर विपक्षमा चौबिस ईन्चको चौविसे सुब्वा खुकुरी । यो समय उस्को दिमागभरी राजेश खन्नाको हिन्दी फिलिम, खुकुरी, चुप्पी र खोम्माकीको बाटुलो मुहारमात्र आई रह्यो । हिजोसम्म उस्लाई आफ्नो एकतर्फी प्रेम र चुप्पीप्रति अथाह प्रेम र लगाव थियो । तर आज दुवैले उसको लागि पराय हुदै थियो । हेर्दाहेर्दै लाठेहरुले खोम्माकीलाई काधमा बोकेर डाँडा कटाए । चुप्पे चिसाङ खोलाको पानीसँगै ओह्रालो लाग्यो ।
यसरी चुप्पेले खोम्माकीलाई गुमाएको हो । उसैको विवाह उत्सवमा ऊ कसरी खुसी हुनसक्छ ? बिहानदेखि नै बिहे घरमा च्याब्रुङको आवाज गुन्जिरहेको छ । चुप्पेले बिहेको निम्तोलाई खोल्सातिर घुईत्रो हानेकै हो । जान्न भनेर मनलाई दह्रो बनाएकै हो । तर रात छिपिदैं गएपछि पालम र च्याब्रुङको संगितले चुप्पेलाई डोऱ्याएर लग्यो । राँको बालेर चुप्पे उकालो बिहे घरतिर लाग्यो । घरको तल्लो कान्लामा भतेर पकाउन र जाँडरक्सी बाड्न तयार गरेको गोठ । पल्लो कान्लामा पाहुना राख्न बनाईएको अस्थाई बाँसको कटेरो थियो । बिजुली बत्ति नभएको गाउँ । पेट्रोलमेक्सले झकिझकाउ थियो । गाउँका एकहुल केटीहरु कान्लामुनि पिसाव फेर्न बसेका मात्र थिए । चुप्पेको राँकोले सबै तर्सिए । 'आच्या के गर्छन् लाज पचेकाहरु?' चुप्पेले हतपत्त राँको भुईमा झोस्यो । उताबाट छिल्लिएको आवाज आयो, 'कस्ले हर्नु भनेको थियो त हामीले मु...को ?' चुप्पे चुपचाप कान्ला माथिको भान्सा गोठमा पस्यो । 'रक्सी छ निगुरी?' चुप्पे बोलत हल्लाउन थाल्यो । निगुरी गुन्यु मिलाउदै आई, 'बोतलमा छैन ड्रममा छ' निगुरीले ड्रमबाट एक बटुका रक्सी झिकेर चुप्पेलाई दियो । प्रेम वियोगी चुप्पेले एकै स्वाटमा सिध्यायो र आलुको तरकारी एक प्वाक खायो । 'अझै खाने?' निगुरीले थपी दिई ।
पल्लो कान्लामा पालमको चर्को स्वर सुनिदैछ । केटाकेटीहरुको छिल्लिएको पालमले रातलाई रोमान्चित बनाउंदैछ । यता चुप्पे रक्सीको नशाले देउलिङे मेला र उस्को खोम्माकीलाई सझिरहेको छ । 'अई चुप्पे के सम्झेको? जाने हैन पाहुना कटेरोतिर?' निगुरीको आवाजले चुप्पे तर्सियो । 'खोम्माकी कता छ?' चुप्पेको बोलि लर्रबरीन थाल्यो । केटीहरुले त्यहाँ बसिरहन उचित ठानेनन् । सबै लागे पालामको संगीततिर । चुप्पे बिस्तारै उठ्यो र हल्ला गर्दै उज्यालोतिर दगुऱ्यो । होहल्लाले सबैको भागाभाग भयो । जन्ती बसेको कटेरो पुग्दा केहि बुढापाका र खोम्माकीमात्र थिए । बेहुला ज्यान जोगाउन अघिनै सुईकुच्चा ठोकेछ । चुप्पेलाई देखेर त्यहाँ हुने सबै डरले कामिरहेका थिए । चुप्पेको अनुहारको भाव रौद्र थियो, रिसले कामिरहेको शरीर र हातमा उहि रेम्वो चुप्पी । खोम्माकीले केहि बोल्ने आँट गरीन । बिस्तारै पाहुना र गाउँकाहरु भेला भए । चुप्पेलाई कसैले सम्झाउदै थिए । कोहि चाहि तोङवा तान्न लागे । घटना सामान्य बन्दै गएपछि बेहुला लुसुक्क खोम्माकीको छेउमा आएर घुस्रियो । सान्त भई सकेको चुप्पे फेरी बौलायो । एकै पटक झम्टेर बेहुलाको अगाडि पुग्यो । कसैले केहि अनुमान लगाउन सकेनन् । चुप्पेले सायद जीवनमा पहिलो पटक रेम्बो चुप्पीको सदुपयोग गऱ्यो । कहिकतै केहि नहेरी बेहुलाको पेटमा रेम्बो चुप्पी घुसाऱ्यो । बेहुला बिचरा पुक्लुक्कै खोम्माकीको काखमा लड्यो । खोम्माकी अमुक बनी आँखाबाट आँसु झऱ्यो । चुप्पेलाई त्यो आँसुले छेकेछ क्यार । यात गल्ती गरेको महसुश भयो । चुप्पेले न खोम्माकीको आँसु पुछ्ने साहश गऱ्यो न फेरी घोच्ने हिम्मतनै । बस् उस्को बाल्यकालको साथी खोम्माकी र रेम्बो चुप्पीलाई त्यहि छोडेर ओह्रालो अध्यारोमा बिलिन भयो । यतिबेलासम्म चुप्पेले मान्छे माऱ्यो भन्ने हल्ला चारैतिर फैलियो । गाउँलेहरु बेहुलालाई स्वास्थ्य चौकी लाने तयारीमा जुटे ।
यो घटनाको १० बर्षपछि ।
खोम्माकीको घरमा आज बिशेष पुजा छ । श्रीमान् र आठ बर्षको छोरा ‘माग्ध्वो’ बिहानदेखि उठेर पुजाको सरसामान तयार गदैछन् । लिम्बु समुदायमा केहि बर्ष यता सत्यहाङ्मा धर्मले प्रसय पाएको छ । फाल्गुनन्दले प्रतिपादन गरेको हिन्दुको फोटोकपि धर्मको राम्रो र नराम्रो दुवै पक्ष छन् । अहिंशावादी यो धर्मको पुरेतलाई येबाहाङ युमाहाङ भन्छन् क्यार । त्यहि पुजारी आएर पुजा आरम्भ गर्ने योजना अनुरुप सबै चोखो मनितो गरीरहेका छन् । पुजारी लारुम्बाबाट आउने कुरा गाउँभरी हल्ला छ । एकदम सिद्ध पुरुष, ज्ञानी र सादा खानपान गर्ने भनेर त्यहि अनुरुप प्रसाद बनाईदैछ । बिहानको १० बजे बल्ल पुजारीले खोम्माकीको घरको आँगन टेक्यो । सेतो पोसाक, सेतो टोपी र सेतै कपडाको जुत्ता हालेको, गलामा रुद्राक्षको माला, निधारमा चन्दन, हातमा भोलेबाबाको त्रिशुल । अनुहारमा कहिकतै गन्न सकिने दाह्री जुँगा । जसै पुजारीले आगनमा पुजा गर्न आसन जमायो, भित्रबाट खोम्माकी र उस्को श्रीमान् दगुरेर आई पुजारीको खुट्टामा शीर झुकाए । पुजारी केहि पछाडि हटि आँखा चिम्ले । दुवैलाई उठाएर आशिर्वाद दिन लागे, 'सौभाग्यवती हुनु, धनधान्यले भरीपुर्ण हुनु, तिमीहरुको घरमा कहिल्यै शत्रु नलागोस् मेरो मेरो कृपा छ तिमीलाई । जब पुजारीको आँखा खोलियो, अगाडिको दुई मुहार देखेर सातो गयो । अगाडि उभिएका खोम्माकी र उस्को श्रीमान् अवाक भए । खोम्माकीको दिमागमा एउटै प्रश्न आईरह्यो । यो ब्यक्तिलाई मैले कहाँ देखेको हुँ । खोम्माकीको श्रीमानले पनि सम्झियो कहाँ देखेको हुँ ?। अचानक दश वर्ष अगाडिको बिहेको दिन ताजा भएर आयो । दुवै जोईपोईको मुखबाट एकै पटक संम्बोधन निस्किए, “चुप्पे तँ” । बातारण मौन । खोम्माकीको छोरा माग्ध्वो अझै चुप्पेको पाउमा लम्पसार परेर लडिरहेको थियो ।


Comments
Post a Comment