डायस्पोराका संस्थागत गतिविधिहरुका चुनौतीहरु: विचार


बिनोद भट्टराई

केहिहप्ता पहिले कुवेतमा नेपाली राजदुतको समेत उपस्थितिमा आयोजना भइरहेको एक कार्यकममा भएको अप्रिय घटना र तत्पश्चात नेपाली राजदुतावासले जारी गरेको सचेतनात्मक प्रेस विज्ञप्तीले नेपाली डायस्पोरामा अझ बिशेष गरी मध्यपुर्व क्षेत्रमा निकै चर्चा पायो । 

छिमेकि मुलुकहरुमा समेत सावधानी अपनाउन छलफलहरु चलेको, नेपाली नियोगहरुले सतर्क गराएका जानकारीहरु आए । कतारमा फरवरीको अन्तिम हप्तामा सम्पन्न एक बृहत सांगितिक कार्यक्रमक तथा गत जनवरीमा सम्पन्न एनआरएनए एनसीसी कतारको एउटा कार्यक्रम निकै मेहनत गरेर अनुमति लिएर मात्र सम्पन्न गरिएका थिए । यि पछिल्ला केहि उदाहरण मात्र हुन् । अनुमति नलिदा केहि महिना अघि कतारमा एउटा परोपकार सम्बन्धि कार्यक्रम अन्तिम अवस्थामा रद्ध नै भएको खल्लो घटना मात्र नभएर पछिल्लो समयमा कतिपय पब्लिक पार्कहरुमा संचालन भइरहेका बनभोज तथा मनोरञ्जनात्मक कार्यक्रमहरुमा आयोजकहरुले पटक पटक विभिन्न बहानामा खेप्नु परेका अवरोधात्मक घटनाहरुहरुलाई सरसर्ती विश्लेषण गर्दा खाडीमुलुकहरुमा संस्थागत गतिविधि वा कार्यक्रमहरु संचालन गर्न चुनौतिहरु बढ्दै गएको अनुमान सहजै गर्न सकिन्छ ।
डायस्पोरामा हरेक सप्ताहान्त उल्लेखनीय संख्यामा सामाजिक, सांस्कृतिक, सांगितिक, साहित्यीक आदी कार्यक्रमहरु आयोजना हुने गरेका छन् । कार्यक्रमको सन्दर्भ, उद्देश्य, अवसर, सहभागिता, उपस्थिति, प्रस्तुती आदीको आधारमा स्तर निर्धारण हुने ति सबै कार्यक्रमहरु आफैमा महत्वपुर्ण रहने गर्दछन् । 

गाँउ समाजमा संस्थागत, सामाजिक गतिविधिमा सहभागि हुन नचाहेका वा नपाएकाहरु पनि प्रवासमा आएपछि  विभिन्न कारणहरुले सहभागी बनेर सामाजिक कार्य गरिरहेका पाइन्छन् । यसबाट प्रवास र राष्ट्रमा थोर बहुत सहयोग भइरहेको मात्र नभएर स्वभावत युवाहरुको सामाजिकिकरणमा सकरात्मक प्रभाव पारिरहेकोछ । आफ्नो सिमित भौगोलिक क्षेत्र बाहिर सिङ्गो मुलुकका कुना कुनाका मानिसहरु बिच अन्तरक्रिया भई भातृत्व तथा सम्बन्ध विकास हुने, प्रवासमा गरिने गतिविधिहरुलाई संजाल तथा अनलाईन मिडियाहरुले व्यापकता दिने भएकोले पनि विदेशका संस्थागत सामाजिक गतिविधिहरु प्रति आकर्षकण बढेको छ ।
धेरैका लागि त घर परिवार, स्कुल, कलेज, गाँउटोलको वातावरणबाट टाढा रहनु पर्दाको न्यास्रोलाई न्यूनिकरण गर्ने गरी सान्त्वना दिने मनोवैज्ञानिक उपचार मात्र नभएर कुलतबाट बचाउने समेत गरेका पाईन्छन् संस्था र यिनका गतिविधिहरुले । व्यक्तिगत मात्र होइन सम्रग राष्ट्रिय कला, संगित, साहित्य र संस्कतिलाई सबैभन्दा बढि प्रबद्र्धन प्रवासले नै गरेको छ भने पर्यटन र व्यापार प्रबद्र्धन पनि क्रमिकरुपमा बढिरहेको छ । यि र यस्ता पक्षहरुलाई हेर्ने हो भने प्रवासमा अझ वैदेशिक रोजगारी क्षेत्रमा संस्थागतरुपमा सामाजिक गतिविधिहरुले निरन्तरा पाउनु पर्छ भन्ने निश्कर्ष निकाल्न सकिन्छ, तर त्यती सहज छैन प्रवासको सामाजिक अभियान । कार्यक्रम सम्पन्न भए पश्चात देखिने रंगिचङ्गी तस्विरहरु सहितका समाचार जति सहज र भव्य देखिन्छन् त्यस पछाडिका कठिनाईहरु त्यत्ति नै विकराल र जटिल पनि छन् ।प्रवास अझ बिशेष गरी इस्लामीक कानुन भएका खाडी मुलुकहरुमा दर्ता नभएका संघ संस्थाद्धारा अनुमति विना कार्यक्रम गर्न प्रतिबन्धित भएकाले यहाँ कानुनी समस्या सबै भन्दा प्रमुख समस्याको रुपमा रहने गरेकोछ ।

अझ पछिल्लो समयमा अरब प्रायदिपमा बढिरहेको द्धन्दको सम्भावित प्रभावबाट सचेत रहन पनि हामी कार्यरत मुलुकहरुले आप्रवासीहरुका गतिविधिलाई कडाइका साथ निगरानी बढाएको हुनसक्छ । त्यसैले यि मुलुकहरुमा स्थापित संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरु कानुनी कठिनाईको चपेटामा पर्न थालेका छन् । धेरै स-साना कार्यक्रमहरु सम्बन्धित निकायहरुलाई जानकारी नै नगराई आयोजना भइरहेका छन् । विशुद्ध सामाजिक भावनाले आयोजना गरिने ति कार्यक्रमहरुलाई हाल सम्म खासै कठिनाई नपरेको भए पनि पछिल्लो समयमा विकसित अवस्थाले आगामी दिनहरुमा त्यति सहज नहुने अनुमान गर्न सकिन्छ । विगतमा कतिपय मँहगा तारे होटल, रिसोर्ट तथा पार्क आदीमा कार्यक्रम गर्दा अनुमति लिनु नपर्ने वा लिनु पर्ने भए पनि सम्बन्धित स्थान उपलब्ध गराउने कम्पनीले नै लिइदिदा आयोजकलाई सहज त थियो तर अहिले आएर प्राय सबै स्थानमा कार्यक्रम गर्न अनिवार्य पुर्व अनुमति लिनुपर्ने बाध्यता छ । ति महँगा स्थानहरुमा हाम्रा प्राय संघ संस्थाले सामाजिक कार्यक्रम गर्न सक्ने अवस्था पनि रहदैन । 

कतारमा सांस्कृतिक वा मनोरञ्जनात्मक कार्यकमहरुलाई निश्चित प्रक्रिया पुरा गराई अनुमति दिने गरेको छ तथापि तिनको प्रक्रियाको बारेमा जानकारीको अभाव, नियोगको प्रयाप्त सहयोगको अभाव र सहजीकरण, लाग्ने समय आदिका कारण त्यति सहज छैनन । अनुमति नभएका कार्यक्रमहरुलाई स्थान पाउन लगायतका समस्या रहने, अवरोध हुन सक्ने जोखिम भए पनि कार्यक्रम गर्नु पर्ने बाध्यतामा रहेका आयोजकहरुले कानुनी बन्देजहरुलाई नजर अन्दाज गर्दै कार्यक्रमहरु संचालन गर्दा सम्भावित दुर्घटनाको जोखिम रहने गरेको छ ।

समस्या अरु पनि छन् । सहभागीहरुको क्रियाकलाप, कार्यक्रम व्यवस्थापन (Event Management),, समय तथा आर्थिक व्यवस्थापन पनि अन्य चुनौतिका रुपमा रहने गरेका छन् । कतिपय कार्यक्रमहरुमा सहभागिहरुबाट नै हुने अप्रिय गतिविधिका कारण कार्यक्रम असफल हुने मात्र नभइ अन्य कार्यक्रमहरुलाई समेत धेरै नकरात्मक असर गर्ने गरेकोछ । कार्यक्रममा सहभागिहरु असुरक्षित महशुस गरी सहभागिता र सहयोगमा कमि आउने मात्र नभइ सम्बन्धित मुलुकका निकायहरुको निगरानी बढ्नाले जटिलता थपिदै गएको छ । 

प्रवासमा प्राय सबै रोजगारी वा व्यवसायमा निश्चित समय व्यस्त रहनु पर्ने भएकोले कार्यक्रम आयोजनाको तयारी गर्न आयोजकहरुले प्रयाप्त समय दिन नसक्दा कार्यक्रम स्थालमा नै कतिपय तयारी पुरा गरेर कार्यक्रम शुरु गर्नु पर्ने बाध्यतामा देखिन्छन् । अर्को तिर कार्यक्रम व्यवस्थापन (Event Management)लाई सामान्य रुपले लिएर योजनाबद्ध तयारी नगरी आफुले जति जानेको छ त्यतिकै आधारमा कार्यक्रम अगाडी बढाउदा कार्यक्रमको संख्यात्मकरुपमा वृद्धि भए पनि स्तर भने खासै बढ्न सकेका देखिदैनन् । अझ कतिपय आयोजकहरु कार्यक्रमलाई स्तरिय बनाउन भन्दा औपचारिक वा अनौपचारिकरुपमा क्षमायाचना गरेर कमजोरीहरुलाइ सहानुभुतिले ढाक्न खोज्ने रहने प्रवृत्ति निकै व्याप्त देखिन्छ । वास्तवमा कार्यक्रमहरु त्रुटिपुर्ण गरेर क्षमायाचना गर्ने समय कार्यक्रम पुर्व तयारीको लागि आवाश्यक राय सुझाव लिनमा खर्च गर्ने हो भने निकै फलदायी हुन सक्छ तर गरिदैन किन भने आफु पुर्ण जानकार नभएको बिषयमा प्रयाप्त जानककारी वा राय सुझाव लिन हिच्किचाउने प्रवृत्ति कायम नै छ हामीमा ।

प्रत्येक कार्यक्रमको सफलता त्यसको आर्थिक पक्षसँग पनि जोडिएको हुन्छ । आयोजकहरुको निश्चित आय श्रोत हुने भएकाले साना कार्यक्रमहरु तुलनात्मक सहज देखिए पनि ठुला र व्यवसायीक प्रयोजनका कार्यक्रमहरुलाई आर्थिक पक्षले निकै पिरोलेको पाइन्छ । कतिपय आयोजकहरु त कार्यक्रम पश्चातको आर्थिक अवस्थाको चिन्ताले अगाडी नै कार्यक्रम व्यवस्थापन र संचालन गर्ने आत्माविश्वास गुमाउन समेत पुग्दा कार्यक्रमको स्तरियतामा ह्रास आउने गरेकोछ । आफुले आर्जन गरेपछि केहि अंश मानविय, कल्याणकारी वा सामाजिक कार्यमा खर्च गर्नु पर्छ भन्ने भावना सबत्र पाईन्छ । हरेक सफल व्यक्ति, फर्म वा कम्पनीले सामाजिक उत्तरदायित्व शिर्षकमा त्यस्ता कार्यकहरुको लागि निश्चित बजेट समेत विनियोजन गर्ने गरेका हुन्छन् । त्यो मात्र नभएर समुदाय केन्द्रित कार्यक्रमहको लागि व्यापारीक दृष्टिले पनि सहयोगहरु लिन सक्ने प्रशस्त सम्भावनाहरु रहन्छन् । तिनलाई प्रभावकारी समन्वय गर्न सक्ने हो भने कार्यक्रम संचालन गर्न मात्र नभएर उल्लेख्य कल्याणकारी कार्यहरु गर्न सकिन्छ तर नेपाली समुदाय वा भनौ संघ संस्थाहरु विभिन्न कारणले त्यस्ता राम्रा श्रोतहरु सम्म पुग्न सकिरहेका छैनन । आफ्ना सदस्यहरुको आन्तरिक संकलन र सिमित संख्यामा रहेका नेपाली व्यवसायीहरुले गरेको सहयोगमा नै निर्भर छन् प्राय हाम्रा संघ संस्थाहरु । यसमा मुख्यतया २  कारणहरुले असर गरेको देखिन्छ । पहिलो संस्थाहरुको आधिकारिकता र दोश्रो संस्था संचालकहरुको ति श्रोतहरु सम्म पुग्ने आत्माविश्वास सहितको बाटो । केहि कार्यक्रम आयोजना गर्दा राम्रा प्रायोजक, सहयोगीहरुले सहयोग गर्ने गरेको भएता पनि कतिपय आयोजकहरुको दरिलो समन्वयको कमि, विश्वसनियताको अभाव, कार्यक्रमको संचालन-व्यवस्थापनका कारण अपेक्षित प्रभावकारी वा छाप छाड्न नसक्नु आदी कारण्हरुले निरन्तरता पाउन सकेको देखिदैन ।      

आज प्रवासमा नेपाली संस्था तथा कार्यक्रमहरुमा जति लगानी भइरहेको छ त्यसको अनुपातमा उपलब्धि हुन नसक्नुमा कतिपय हाम्रा आफ्नै कमिकमजोरीहरु पनि छन् तथापी यि आन्तरिक र गौण चुनौहिरु हुन जसलाई हामी आफैले क्रमिकरुपमा सुधार गर्न सक्छौ । मध्यपुर्वमा संस्थागत-सामाजिक अभियानका प्रमुख चुनौति कानुनि जटिलता नै हो । यसको निराकरण वा न्युनिकरणमा हामीबाट ठोस पहल हुनसकिरहेको छैन । कुनै कार्यक्रम बिशेषमा आएका वा आउन सक्ने समस्यालाई समाधान गरेर सम्पन्न गर्न तत्कालिन पहल हुने गरेका भए पनि दिर्घकालिनरुपमा निश्चित मापदण्ड पुरा गरेपछि निर्धक्करुपमा कार्यक्रम आयोजना गर्न सक्ने वातावरणको लागि पहल गर्न ढिला भइसकेको छ । 

रोजगारदाता मुलुकहरु गैर राजनैतिक प्रकृतिका मनोरञ्जनात्मक, सांगितिक, चेतनामुलक, प्रकृतिका कार्यक्रमहरु प्रति सकरात्मक रहदै आयोजना अनुमति दिने मात्र नभएर कतिपय अवस्थामा सहयोग समेत गर्ने गरेका छन् । त्यसलाई समेत हामीले आफ्नो समुदायको लागि प्रयाप्त उपयोग गर्न सकिरहेका छैनौ । सम्बन्धित मुलुकसँग कुटनैतिक समन्वय गरेर हाम्रा संस्थाहरुले गर्ने सामाजिक गतिविधिहरुले यस मुलुकको सुरक्षा, सार्वभौमिकता वा कानुन विपरित कुनै पनि गतिविधि हुने छैनन्, बरु कर्मभुमिको रुपमा यस मुलुक र यहाँका नागरीकहरुको गरीमा बढाउनेछ भन्ने प्रत्याभुति गराउन सकेमा निश्चित प्रकृतिका सामाजिक गतिविधहरु गर्न पाउने वातावरण बन्न सक्दछ । कतार लगायत आर्थिकरुपमा समृद्ध खाडि मुलुकहरु विश्व सामु सामाजिक र आप्रवासी कामदारहरुको अधिकारका क्षेत्रमा पनि आफुलाई अग्रपङितमा राख्न विभिन्न कल्याणकारी कार्यक्रमहरु आयोजना गराई रहेका छन् । ति कार्यक्रमहरु सम्पन्न गर्न सम्बन्धित समुदायको सहयोग आवाश्यक पर्दछ र कुनै न  कुनै (व्यक्तिगत वा संस्थागत) रुपमा समुदायको सहयोग लिएर नै हुने गरेका छन् । 

विगतमा ति समन्वय व्यक्तिगत थिए भने क्रमिकरुपमा समुदायगत भएका छन्, अव यसलाइृ संस्थागत गर्न प्रयास गरिनु पर्दछ । यो सम्भव भएको अवस्थामा हाम्रा सामाजिक गतिविधिहरु सहज सुरक्षीत, व्यवस्थित र गुणात्मक रुपमा सुधार गर्दै थप उपलब्धिमुलक कार्यहरु गर्न सकिन्छ र वास्तवमै नेपालीहरुको सामाजिकिकरणको सुचांङक उच्च छ  भनेर व्यवहारिकरुपमा नै पुष्टि गर्न सकिन्छ ।         
 -लेखक गैर आवासीय नेपाली संघ,आइसीसी सदस्य हुन्_ 

     


Comments