टुँडिखेलमा १५ वर्ष डम्फू बजाए पनि अधिकार पाइँदैन

 
   फागुन १७ ।  
ल्होछार पर्वको अवसर पारेर नेपाल तामाङ घेदुङका पूर्वाञ्चल प्रमुख तथा आदिवासी जनजाति अधिकारकर्मी मोहन गोलेले पूर्व र मध्य क्षेत्रका समेत १० जिल्लाको कार्यक्रमहरुमा सहभागिता जनाएका छन् ।
माघ १५ गतेदेखि तामाङ जागरण अभियानमा दौडेका गोलेले लगभग एक महिनाको बीचमा सर्लाही, सिराहा, सप्तरी, उदयपुर, ओखलढुंगा, मोरङ, झापा, इलाम, धनकुटा र तेह्रथुम जिल्लाका डेड दर्जन बढी ल्होछार समारोहलाई सम्बोधन गर्न भ्याए ।
नेपाल तामाङ घेदुङको फागुन २९ र ३० मा हुन गइरहेको आसन्न आठौं राष्ट्रिय महाधिवेशन सकेर उनी ताम्सालिङ क्षेत्रका जिल्लाहरुमा तामाङ जागरण अभियान लिएर पस्ने बताउँछन् । ‘ताम्सालिङको जनतालाई नउठाई पूर्वमा मात्रै जागरण अभियान सञ्चालन गरिरहँदा बिँड मात्रै तातिएको जस्तो भयो’ उनले भने– ‘अब ताप्के तताउनको लागि पूर्वबाट ताम्सालिङ क्षेत्र पस्दैछु ।’
सांस्कृतिक क्रान्तिले मात्रै राजनीतिक अधिकार प्राप्त गर्न नसक्नेमा उनी स्पष्ट छन् । भन्छन्– ‘टुँडिखेलमा १५ वर्ष डम्फू बजाएर नाचे पनि ताम्सालिङ पाइने छैन तर १० लाख तामाङ मिलेर १५ दिन सिंहदरबार घेर्ने हो भने ताम्सालिङ मात्रै होइन, सिंहदरबार तामाङ जनताको कब्जामा आउनेछ । 

आफूले परिकल्पना गरेको ताम्सालिङ स्वायत्त प्रदेश जातीय राज्य नभएको स्पष्ट पार्दै उनले भने– ‘ताम्सालिङको मुख्यमन्त्री बाहुनको छोरो अग्नीप्रसाद सापकोटा पनि हुनसक्छ तर एउटा शर्त उसले तामाङ तागी (टोपी) लगाएर पदभार ग्रहण गर्नुपर्छ’, उनले थपे– ‘यदि उसले तामाङ तागी स्वीकार गरेन भने समग्र तामाङ ऐतिहासिकता र तामाङ जीवनपद्धतिलाई उपहास गरेको बुझिन्छ, त्यसकारण तामाङ तागी लाएको हुनुपर्छ ।
यो संविधानले उत्पीडित जनताको पहिचान र अधिकारलाई सुनिश्चित गर्न नसकेको हुँदा फेरि अर्को विद्रोह आवश्यक रहेको गोलेको भनाइ थियो । उनले अगाडि भने– ‘त्यो विद्रोहको लागि अग्रगमन पक्षधरहरु बढीमा ५ वर्ष गाउँ पस्नुपर्नेछ, त्यसबाट एउटा शक्ति निर्माण हुने र त्यसले मात्र पहिचान र अधिकार सुनिश्चित गर्नेछ ।
अबको विद्रोहको स्वरुप कस्तो हुने ? भन्ने सम्बन्धमा समेत गोलेले स्पष्ट पारे– ‘यो विद्रोहमा बन्दुक उठाइने छैन ।’ माओवादी जनयुद्धलाई संकेत गर्दै उनले भने– ‘बन्दुकबाट जवर्जस्त गरिएको परिवर्तन टिकाउ हुँदैन ।’ यसको लागि अन्तिम धक्कामा उत्पीडित जनताको लाखौं छातीहरुलाई सिंहदरवारमा उतारिने उनले दाबी गरे ।

 
उनले थपे– ‘हाम्रा लाखौं छातीहरु उठेपछि बन्दुकहरु झुक्न बाध्य हुनेछन्, सिंहदरवारका पिच सडक हाम्रा कुर्कुच्चाले भत्काउने छन् ।
नेपाली जनताले २००७ सालदेखि पटक पटक विद्रोह गर्दै आएको भएपनि त्यसले सत्ताको चरित्र परिवर्तन गर्न नसकेको उनको बुझाइ थियो । ‘हाम्रो बलिदानीबाट मुलुकमा धेरैपटक सरकार परिवर्तन भयो तर सत्ताको चरित्र परिवर्तन हुन सकेन’, उनले भने– ‘यसको लागि उत्पीडित जनताको नेतृत्वमा एकपटक विद्रोह हुनु आवश्यक छ ।’ तर विद्रोहको लागि वस्तुगत परिस्थिति निर्माण हुँदै गएपनि आत्मगत परिस्थिति केही कमजोर रहेको गोलेको विश्लेषण थियो । 
तामाङ जागरण अभियानलाई भिन्नाभिन्नै कार्यक्रमहरुमा अन्तर्राष्ट्रिय तामाङ परिषद्का अध्यक्ष महेन्द्रजंग तामाङ, घेदुङका केन्द्रीय उपाध्यक्ष बेली लामा, केन्द्रीय सचिव प्रतीक ङेसुर र मोरङ जिल्ला अध्यक्ष मित्रसेन योञ्जनले पनि साथ दिएका थिए।

                                                                            


                                                                                 

                                                                                                    साभार : अनलाईन

Comments