रमज़ान विशेष: रोजामा सहरी र इफ़्तारको लागि उपयुक्त खाना
विश्वमुस्लिम जगतको पवित्र महिना रमजानको आगमन भई सकेको छ। इस्लामिक क्यालेन्डरको नवौं महिना विश्वभरका मुस्लिम समुदायले पूर्ण आस्था र बिस्वासका साथ यस महिनालाई रोजा (व्रत)को माध्यमबाट आत्मासुद्धिको प्रयाशमा तल्लिन रहन्छन् । इस्लाम धर्ममा आस्था राख्ने मानिसहरु अनिवार्य रुपमा रमजानको महिनामामा रोजा (भोको) बस्ने गर्दछन। सुर्योदय हुनुभन्दा करीव २ घन्टा पहिलादेखि खाने पिउने कार्यलाई पूर्णरुपमा रोकी सुर्यास्त नहुँदासम्म भोको बस्ने र अल्लाहको खुशीको लागि अल्लाहको आदेशको भरमग्दुर पालना गर्ने प्रयाश गर्दछन।
रोजा (व्रत) को बेला सुर्योदय पूर्व खाने पिउने क्रमलाई रोक्ने कार्यको समयलाई 'सहरी' भनिन्छ भने सुर्यास्तसँगै खाने कार्यको थालनी गर्ने समयलाई 'इफ्तार' भनिन्छ। यतिखेर दिन लामो र रात छोटो हुने हुँदा एउटा भक्तालुले १५ घन्टा भन्दा बढी आफुलाई पूर्णरुपमा भोको राख्ने गर्दछ। यस्तो बेला सामान्य रुपमा स्वास्थ्यको ख्याल राख्नु जरुरी हुन्छ ।
स्वास्थ्यको हिसाबले सहरी र इफ्तारमा के खाने के नखाने भन्ने बारे ख्याल राख्नु जरुरी छ।
सहरीको समयमा के खान ठिक हुन्छ जसले हामीलाई स्वस्थ राख्न मद्दत गर्दछ:
सहरीको लागि केहि यस्ता खुराक जसले हाम्रो स्वास्थ्यलाई पुरा दिन तन्दुरुस्त राख्न मद्दत गर्दछ -
सहरीको लागि खासगरी ध्यान दिनुपर्ने महत्वपूर्ण पक्ष भनेको हेवी खाना खानु हुँदैन । जस्तै रोटीका परिकारहरु, बिरयानी अथवा धेरै तेल भएका खानाहरु। सहरीमा फलफुल जसमा अधिकतर केरा,स्याऊ,अनारजस्ता फलहरु खानु फलदायी हुन्छ। दुधमा मह मिलाएर खानु उपयुक्त हुन्छ। अन्नमा गहुँको सातु, साथै बदामको लेप र ब्राउन ब्रेड मिलाएर खान सकिन्छ। उमालेको अण्डापनि सहरीकोलागि राम्रो हुन्छ।
यी परिकारको प्रयोगले पाचन प्रक्रिया राम्रो हुन्छ र शरीरमा एकप्रकारको शक्ति प्रबाह गरी रहन्छ। सहरीको समयमा चिया धेरै पिउनु हुँदैन, किनकि यसमा धेरै मात्रामा क्याफिन हुन्छ जसले शरीरमा पानीको मात्रालाई गराई दिन्छ। सहरीको क्रममा धेरै पानी पिउनु राम्रो हुँदैन, समय बचाएर सहरीको समयमा थोरै थोरै गरेर पानी पिउनु उपयुक्त हुन्छ। खाने बित्तीकै सुत्नुपनि हानिकारक हुन्छ। तसर्थ सहरीको समय सकिने कम्तिमा एक घण्टा पहिला नै हेवी टाईपका खाना बन्द गर्नु उपयुक्त हुन्छ।
इफ्तारको बेला के खान उपयुक्त हुन्छ जसले हाम्रो शरीरलाई ताजापन दिन मद्दत गर्दछ-
इफ्तारा गर्दाको समय रोजा(व्रत) तोड्नलाई खजुर खानु सबैभन्दा उपयुक्त हुन्छ, जुन सुन्नतपनि हो । अत्याधिक चिसो पानी पिउनु हुन्न। शरीरमा भएको प्रोटिन र भिटामिनको कमीलाई पुरा गर्न फलफुल र सब्जीहरु खानु राम्रो हुन्छ। दिनभरीको भोक तिर्खाले हामीलाई सताई रहँदा हामी एकदमै हतारिएर खाने-पिउने गर्दछौं जुन ठिक होइन। त्यसैले खाने पिउने काम बिस्तारै बिस्तारै गर्नु पर्दछ। यसले कब्जियतको समस्याबाट जोगिन र शारीरिक चुस्तीलाई कायम राख्न मद्दों गर्दछ । यसको इलावा इफ्तारपछि हलुका व्यायाम गर्नु उत्तम हुन्छ जसले शरीरमा रक्तसंचार गर्न मद्दत गर्दछ। इफ्तारमा हलुका खाना खाएर घरदेखि मस्जिदसम्म पैदल जानु र नमाज़ पढ्नु उत्तम व्यायाम हुन्छ।
इफ्तारमा ध्यान दिनु पर्ने कुरा के हो भने धेरै मात्रामा हतारिएर र एकैचोटी खानु हुँदैन । यदि यसरी हामीले रोजाको बेला हाम्रो दैनिकी कायम गर्न सक्यौं भने इन्शाअल्लाह हाम्रो एक महिने रोजा स्वच्छ, सुन्दर र स्वस्थ रहनेछ।
प्रकाशित मिति: २७ जेष्ठ २०७३
प्रकाशित मिति: २७ जेष्ठ २०७३

Comments
Post a Comment