पोखरा मुस्लिम समाज कतारको परिचयात्मक कार्यक्रम सम्पन्न:
मो तनबिर आलम
बैशाख २०, कतार । रोजगारको सिलसिलामा कतारमा कार्यरत पोखरेली मुस्लिमहरुको समाज पोखरा मुस्लिम समाजले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।
गत १० मार्च २०१६ मा बसेको भेलाले पोखरा मुस्लिम समाज,कतारको पुनर्गठन गरे पछिको यो पहिलो परिचयात्मक कार्यक्रम हो।
गत हप्ता बिहिबार कतारको अल वक्रास्थित सामुद्रिक किनारमा समाजका अध्यक्ष अब्दुल अलीम 'अत्तारी'को संयोजकत्वमा सम्पन्न कार्यक्रममा पोखरा मुस्लिम समाजका सल्लाहकार समेत रहेका नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्ष अब्दुल हफ़ीज़ मियाँ, मेमनेपालका प्रधानसम्पादक करिम बक्स मियाँ, लगायत छिमेकी समाज कास्की रुपाकोटका सामाजिक अभियन्ता नबीउल्लाह मियाँका साथै स्याङ्ग्जा, तनहुँका मुस्लिम समाजका अगुवाहरुको सहभागिता रहेको थियो।
समाजले आफ्नो संस्थाको परिचय दिनुका साथै हालैमात्र पोखरा मियाँपाटनमा सञ्चालनमा आएको 'इदारा' जहाँ पहाडी भेगका गरीव तथा जेहेन्दार बच्चाहरुलाई निःशुल्क पठनपाठनको व्यबस्था गरिएको छ बारे विस्तृत जानकारी दिनुका साथै आर्थिक संकलन कार्यलाई पनि जोडेको थियो।
इदारामा हाल १८ जनाबाट अध्ययन-अध्यापन शुरु गरिएको जानकारी दिंदै निकट भविष्यमा यसलाई वृहत्तर बनाउँदै लगिने र आगामी ६ वर्षमा समाजहरुलाई आवश्यक 'आलीम' (इस्लामिक गुरु) तयार गरिने लक्ष रहेको अध्यक्ष अत्तारीले बताए।
नेपालका प्रख्यात इस्लामिक धर्मगुरु मुफ़्ती जैश मुहम्मद सिद्दीक़ी 'शेरे नेपाल'का उत्तराधिकारी मौलाना ईक्रामुद्दिन अजहरीको प्रमुख संरक्षकत्वमा सञ्चालित इदारालाई विशेष गरी प्रान्त ४ मा आसीन मुस्लिम समुदायको केन्द्रका रुपमा बिकास गरिनु पर्नेमा करिम बक्स मियाँले जोड दिए। साथै राष्ट्रिय शिक्षाको मुलधारमा जोडेर इस्लामिक शिक्षालाई बढावा दिनु पर्ने मियाँले बताए।
कार्यक्रममा करीव ६० जनाको सहभागिता रहेको थियो।

Comments
Post a Comment