मधेश आन्दोलनको उपलब्धीबारे युवाहरुको अन्तरक्रिया


मो तनबिर आलम 
२४ बैशाख, काठामाण्डौ इन्स्टिच्यूट अफ पिस एण्ड जस्टिस् (आइपिजे), सानोपाइला र मधेशी युथ थिंक ट्यांक नामक संस्थाले मधेश आन्दोलनको उपलब्धी तथा अगामी आन्दोलनको सफलताबारे राजनीतिक दल तथा स्थानीय युवासँग अन्तरक्रिया गरेको छ ।
आइपिजेकी निर्देशक डा. डि अकर र कार्यक्रम अधिकृत ड्यानियल ओर्थ तथा मधेशी युथ थिंक टैंकका बरिस्ट उपाध्यक्ष मोहम्मद रियाज साफी र सानोपाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले सहभागीहरुलाई आन्दोलनमा सफलताको लागि अपनाउनुपर्ने सतर्कतावारे जानकारी गराएका थिए ।
विभिन्न मुलुकमा द्वन्द्व व्यवस्थापन क्षेत्रमा सक्रिय आइपिजेले स्थानीय गैरसरकारी संस्था सानोपाइलाको सहकार्यमा मधेशमा जारी आन्दोलनको सही व्यवस्थापन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको झाले जनाए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका अगुवा र युवा अभियन्तासमेत गरी २० जना सहभागी थिए । उनीहरुले विगतको मधेश आन्दोलनबाट प्राप्त गरेको उपलब्धीलाई पहिचान गरी उदेश्य पुरा गर्न कसरी योजनाबद्ध तरिकाले अगाडी बढ्न सकिन्छ, त्यो बुझाउन यो कार्यक्रम आयोजना गरिएको झाले प्रष्ट्याए ।

खासगरी मधेश र पहाडका समुदायबीच आन्दोलनको नाउँमा बढिरहेको वैमनस्यता एंव आक्रोसलाई व्यवस्थापन गर्दै मधेश आन्दोलनबाट समाजमा नाकारात्मक असर पर्न नदिन अहिलेको समयमा यस्तो अन्तरक्रियाले प्रभावकारी काम गर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रमका सहभागीहरुले संविधानमा संशोधन, समानुपातिक समावेशीको सिद्धान्तलाई वैज्ञानिक तरिकाले सम्बोधन, राज्यको हरेक निकायमा जनसंख्याको आधारमा मधेशको समान प्रतिनिधित्व कायम र मधेशको विकासमा राष्ट्रिय बजेट न्यायोचित रुपमा विनियोजन गरिनुपर्ने माग सुनाएका थिए । यसका लागि समग्र मधेशका जनता एक जुट भएर राज्यविरुद्ध चरणबद्ध आन्दोलनमा होमिने तयारीमा रहेको उनीहरुको भनाई थियो ।



Comments