मानवताको संदेशको लागि अन्तर्राष्ट्रिय धार्मिक सम्मेलन: मुस्लिम सम्मेलनमा हिन्दु पुजारीको संवोधन

मेमनेपाल,
३० बैशाख, कतार । कपिलबस्तुमा मुस्लिम समुदायको अन्तर्राष्ट्रिय स्तरको बिशाल धार्मिक सम्मेलन हुने भएको छ। 
मानवताको संदेश (पैगामे इन्सानियत) भन्ने मूल उद्देस्यले जेठको १८ गते कपिलबस्तुको बासखोर-२ गौरीगञ्जमा एक दिवसीय सम्मेलन हुन लागेको हो। 
सम्मेलनमा सहभागी हुन नेपाल लगायत भारतको तमिलनाडु, मुम्बई, बनारस, बैंगलोर लगायतका शहरदेखि धार्मिक प्रवचक तथा भक्तालुहरु आउने भएका छन्। 
भारतको तमिलनाडुका प्रसिद्द इस्लामिक धर्मगुरु डा. अब्दुल्लाह जौलम ओमरी तथा भारत उत्तर प्रदेशका हिन्दु आध्यात्मिक गुरु गंगोत्री पुजारीको प्रमुख आतिथ्यता रहने उक्त सम्मेलनमा करिव एक दर्जनभन्दा बढी इस्लामिक गुरुहरुको प्रवचन रहने आयोजकले जानकारी दिएको छ । 

इस्लामिक दृष्टिकोणमा मानवताको संदेश प्रवाह गर्ने हेतुले गर्न  लागिएको र उक्त सम्मेलन धार्मिक सहिष्णुताको संदेश दिने माध्यम समेत भएको  सम्मेलनको मुख्य आयोजक समेत रहेका मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए। 
कतारमा लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायी मुक्तदा मुसलमानको आर्थिक सहयोग तथा सहयोगीहरु फक्रुदिन र महबूब अलीको तदारुकतामा कपिलबस्तु मुस्लिम समाज कतारको सह-आयोजनामा सम्मेलन आयोजना गर्न लागिएको र उक्त सम्मेलनमा सहभागी हुन नेपाल तथा भारतबाट करीव १० हजार पाहुनाहरु आउने व्यवसायी मुक्तदाले बताए। 

 मुक्तदा मुसलमान
सम्मेलनमा आउने निम्तालुहरुलाई खाना र बस्नको निशुल्क व्यवस्था समेत गरिएको उनले बताए। 
सम्मेलनमा व्यवस्थापिका संसदका स्वतन्त्र सांसद अतहर कमाल मुसलमान, पुर्व उधोग मंत्री दान बहादुर चौधरी लगायत नेताहरुको विशेष अतिथ्यता रहने आयोजकले जानकारी दिएका छन्।

राष्ट्रिय जनगणना आयोगको २०६८ को तथ्यांक अनुसार कपिलबस्तु जिल्लामा जिल्लाको कुल जनसंख्याको १८.१५% मुस्लिम समुदायको बाहुल्यता रहेको छ भने रौतहड (१९.७०%) र बाँके(१८.९८%)पछि कपिलबस्तु सबैभन्दा बढ़ी मुस्लिम समुदायको बसोबास रहेको तेस्रो जिल्ला हो।

Comments