आजाद भिसामा आउनेलाई चुनौती (पुन: प्रकाशित)

"सर मेरो यसमा दोष भनेकै मैले आफन्तको लागि भिसा खोजीदिनु हो । म नोकरी गर्ने मान्छे मेरो एक मित्रले आफन्तलाई झिकाउनु छ कतै कुनै मान्छे छन् भने एउटा आजाद भिसा खोजिदिनु अनि मेरो पहिचानमा भएको एकजना कतारी नागरिकको पिआरओलाई भनेर भिसा लगाएको हुँ ।”
मौखिक सम्झौता अनुसार कामदार कतार आएपछी आफ्नै काम गर्न पाउने शर्तमा सिराहाका अली हसन कतार आएपनि भने जस्तो नभएकोले चार महिना पश्चात कुनै प्रसंगमा व्यक्त गरिएको सिराहा निवासी तैयबको कथन हो यो । तैयब, अलीहसनका आफन्त रहेछन,त्यसैले कतार आएर आफैं काम खोजेर कुनै कम्पनीमा काम गर्ने शर्तमा कतारी मालिकलाई नेपाली बराबर ८० हजार तिरेर भिषा निकाली दिएका रहेछन । तर अलि हसन आएको तीन महिनासम्म कतै काम नपाए पछी मालिकले या चाँडो कतै काममा लाग्न नभए टिकट काटेर नेपाल फर्किन दवाव दिएपछी दुताबासमा न्याय माग्न पुगेछन अली हसन ।
आजाद भनिएको भिसा मार्फत महँगो शुल्क तिरी कतारमा आफुले इच्छाएको काम गर्न पाउने प्रलोभनमा आएका अलि हसन अन्तत: काम नै नपाएपछी नेपाल फर्किन बाध्य भए । उनको लगानी डुब्यो । तैयब आफन्त भएको नाताले टिकट खर्च व्यहोर्नु पर्यो । धेरै वर्ष कतार मै काम गरेर फेरी आजाद भिसा मार्फत कतार पूनरप्रवेश गरेका तनहुँका अर्षद अलीको पनि उस्तै समस्या छ । उनी एक सालदेखि काम विहिन भएर बसेका मात्र छैनन् अहिलेसम्म उनको स्थायी भिसासम्म लाग्न सकेको छैन । धेरै कमाइको लोभमा परेर आएका अली ‘कुनै कम्पनीमा सिधै काम गर्न आएको भए कमाई धेरथोर जे भएपनि अहिले यसरी भौतारिएर हिंड्नु पर्ने थिएन’  सिप र दक्षता नभई यो प्रक्रियाबाट आउँदा समस्या ठुलै पर्ने उनको कथन छ ‘कम्तीमा सिप र दक्षता भएमा गाह्रो साह्रो जे भएपनि काम पाउन सकिन्छ’ भन्छन ।
जम्माजम्मी डेढलाख खर्चेर आजाद भिसामा नौ दिन पहिला मात्र कतार छिरेका काठमाण्डौका निलम कुँवर भन्छन ‘विदेशबाट फर्केका आफन्त र खासगरी भिसा कारोबारीहरुले आजाद भिसामा गए कम्तीमा १५ सय २ हजारको नोकरी सजिलै पाइने लोभ र सपना देखाएको भरमा कतार आइयो’ प्लस टुमा ब्याक लागेका कुँवर लोभमा परेर फँसेको बताउँछन ‘कुनै काम नजानी यो भिसामा आउनु ठुलै चुनौती रहेछ’ ।
मलेसियामा काम गरेर फर्केका स्याङ्गजाका रणबहादुरपनि आजाद भिसामा आएर अहिले अन्यौलमा छन् । एजेन्टले आजाद भिसा भनेर भिसा दिएपनि कम्पनी मै काम गर्नु पर्ने भिसा भएको कारण उनी र आफन्त अहिले एजेन्टलाई फकाउन व्यस्त  देखिन्छन । वेल्डरको काममा पोख्त उनी भिसाको मात्र २५ सय रियाल तिरेर आएका रहेछन भने श्रम,विमा र टिकट वापत ६० हजार रुपियाँ खर्च भएछ ।   कतारमा अहिले आजाद भनिएको भिसा कारोबार निकै फस्टाई रहेको छ । ३ हजार देखि ३५ सय रियालसम्ममा यसको कारोबार हुने गर्दछ । श्रम,बिमा र टिकट सबै मिलाउँदा नेपाली १ लाख २० हजारसम्मको मोटो रकम खर्चेर नेपाली आई रहेको पाइन्छ ।
सयौं मेन पावर व्यबसायी, लाखौँ बेरोजगार नेपाली अनि सहज तरीकाले रोजगार पाउन सकिने खाडी खास गरी कतार जस्तो प्रगतिशील मुलुक नजान्नु कहाँ नेर के मिली रहेको छैन,जसको कारण नेपाली श्रमिकका समस्या दिनानु दिन बढ्दो छ,जसमा अहिले एउटा जटिल समस्या बनेर देखिएको कथित आजाद भिसाको कारोबार पनि हो । आजाद भिसा भन्ने केही हुँदैन,यो कतारी मालिकले एउटा निश्चित शुल्क लिएर भिसा दिने, जब भिसा वाहक कतार आउँछ उसले मालीकको अनुमती लिएर कानुन बमोजिम काम गर्न,अथवा कुनै कम्पनीमा राम्रो अवसर पाए नोकरी गर्न,अथवा मालिकको मिलेमतोमा ब्यापार व्यवसाय गर्न सक्ने खालको मालिक र आफुविच समझदारीमा हुने किसिम मात्र हो । यस प्रक्रियाबाट विसेस गरी फिलिपिन,भारत,बंगलादेशी नागरिक बढी जसो आउने र मालिकको मन्जुरीमा कुनै राम्रो नोकरी खोज्ने अथवा मालिकसँग समझदारीमा आफ्नै केही काम गर्ने गरेका हुन्छन,भने नेपालीहरुपनि यस प्रक्रियामा बिस्तारै आकर्षित भएको पाइन्छ,तर यस प्रक्रियाबाट कतारमा काम गर्न आउनु पूर्व एउटा निश्चित लक्ष हुनु आवस्यक छ,भन्ने कुरा अलीदेखी कुँवर जस्ता कैयौं नेपाली युवा र तिनका कतारमा रहेका आफन्तले नबुझ्दा यो प्रक्रिया एउटा समस्या बनेर देखिएको छ. अर्षद अलीको भनाइमा भने यो आम समस्या होइन यो एउटा जटिल समस्या हो ।
आजाद भिसा प्रक्रियाबाट कामको सिलसिलामा आउने व्यक्तिले खाने–बस्ने,नोकरी खोज्नेदेखि लिएर विविध चरणहरुको सामन्जस्यतालाई ध्यानमा राख्न सकेन भने मर्का ठुलै पर्ने गर्दछ । हुन त सबै कुराको फाइदा बेफाइदा अवस्य हुन्छन् । धेरैजना यसै प्रक्रियाबाट कतार आएर ठुलै प्रगतीपनि गरेका उदाहरणहरु छन,कतारमा स्थापित अधिकांश व्यवसायी,उधमी,विभिन्न कम्पनीमा उच्च पदमा काम गर्ने नेपालीहरुको ठुलै फेहरिस्तपनि छन । तर लोभ र सपनामात्र बोकेर भन्दा वास्तविकतालाई नियालेर बुझेर बस्तुगत धरातलमा टेकेर आउनु पर्छ । संघर्ष र चुनौतीलाई सपनाको महत्वपूर्ण कडी मान्दै यस्तो सिप,व्यवहारिक शिक्षा र स्पष्ट लक्ष सहित आएको छ भने पक्कैपनि राम्रो परिणाम आउन सक्ला । नत्र कतार जाने वित्तिकै आफ्नै मर्जीको मालिक बन्ने मानसिकता मात्र बोकेर आउने हो भने यसले ठुलै समस्यामा पार्ने निश्चित छ । आजाद भिसामा आउने बित्तिकै सजिलै हजारौ तलब र मन पसंद काम पाइन्छ भन्ने सोच राख्नु भन्दा यो बाटोबाट विदेश आउनु पूर्व आफु कुनै काममा पोख्त छु कि छैन भन्ने कुरा स्वयं आफु र आफन्तले विचार पुर्याउनु पर्ने हुन्छ ।


(कान्तिपुर प्रबास साप्ताहिक,कतारको २०१३ फरवरी १४, अंकमा प्रकाशित लेख हो )

Comments