टेलिभिजनमा ‘सिधा कुरा’ लिएर आउँदैछन् प्रधानमन्त्री ओली
नेपाल टेलिभिजनमा हरेक हप्ता प्रसारणको तयारीमा रहेको लाइभ कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ मा लामिछानेले नागरिक र प्रधानमन्त्रीबीच छलफल गराउनेछन्। नागरिकका चासो, गुनासो र प्रश्न यो कार्यक्रममार्फत प्रधानमन्त्रीलाई सोध्न सकिनेछ।
सुरुमा हरेक दिन बेलुका प्रधानमन्त्री निवासबाटै कार्यक्रम गर्न आफूले प्रस्ताव गरेको लामिछाने बताउँछन्। 'दिनको एक घण्टा राष्ट्रका लागि दिने भन्ने कुरा हो तर प्रधानमन्त्रीको समयको विषय जटिल बन्यो।'
यसबीचमा नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईँले नेपाल टेलिभिजनबाट कार्यक्रम गर्न प्रस्ताव गरेपछि नेपाल टेलिभिजनमा कार्यक्रम गर्ने तय भएको उनले बताए।
कस्तो हुन्छ कार्यक्रम ?
प्रधानमन्त्रीसँग गर्न लागेको कार्यक्रमबारे उत्साही देखिएका लामिछाने आफ्नो कार्यक्रम कुराकानी भन्दा 'एक्सन' कार्यक्रम हुने दाबी गर्छन्।
'सरकार प्रमुखलाई जनताप्रति जवाफदेही बनाउने, उत्तरदायी बनाउने कार्यक्रम हुनेछ, मुखपत्र हुने छैन', लामिछाने भन्छन्, 'देशको एउटा समस्याबारे हरेक हप्ता टेलिभिजनमा समीक्षा हुन्छ।'
'हामी सुरुवातमा सानो डकुमेन्ट्री जस्तो सामग्री देखाउँछौँ, अनि विज्ञहरु पनि स्टुडियोमा हुनेछन्, देशको समस्याबारे प्रधानमन्त्रीलाई उजागर गर्छौँ', लामिछाने भन्छन्– हामी कार्यक्रममा सम्भावनाको कुरा गर्छौँ। कसैले केही इन्भेन्सन गर्यो भने यस्तो पनि छ है हाम्रो देशमा भन्ने उजागर गर्छौँ।'
'यो एउटा स्मार्ट प्रोग्राम हुन्छ कुनै गफगाफ गर्ने कार्यक्रम हुँदैन। यो टक सो होइन, एक्सन हुनेछ।'
सञ्चालक लामिछाने प्रधानमन्त्री नै उपस्थित भएर दिएका निर्देशन र छलफलका विषयमा अन्य कार्यक्रमहरुमा फलोअप गरिने बताउँछन्।
'कर्णालीका मान्छेले खाद्य संकटबारे गुनासो गरे। प्रधानमन्त्रीले त्यसमा बोलेको भए के भयो फलोअप गर्छौँ। फलोअप पछिमात्र हामी नयाँ कार्यक्रममा प्रवेश गर्नेछौँ', लामिछाने कार्यक्रम फर्म्याटबारे खुलाउँछन्, 'युथहरुका प्रश्न धेरै लिने टार्गेट छ। ट्विटर, ह्वाट्स्एप र भाइबरबाट म्यासेज पठाउन सक्छन्। देश विदेशको कल लिन्छौँ।'
पहिलोपोस्ट बाट


Comments
Post a Comment