हिमालय एयरलाइन्सको एयरबस भोलि आउँदै,चैत ३० देखि व्यवसायिक उडान: पहिलो गन्तव्य दिल्ली दोस्रो दोहा

फाल्गुन २५, मेमसमाचार।
निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले बुधबार आफ्नो पहिलो एयरबस नेपाल भित्र्याउने भएको छ । कम्पनीको ए३२० एयरबस दिउँसो एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छ । 

तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालयले नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्न लागेको हो । यही चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीका महाप्रबन्धक राजुबहादुर केसीले बताए  ‘विमान आउनासाथ नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पुरा गरी व्यवसायिक उडान सुरु गर्छौं,’ केसीले भने- ‘हाम्रो पहिलो उडान दिल्लीमा हुनेछ र सोही दिन कतारको दोहामा दोस्रो उडान हुनेछ ।’

हिमालयको विमान ३० गते विहान ११ बजे काठमाडौंबाट भारतको नयाँ दिल्ली  उड्ने तालिका छ । दिल्लीबाट दिउँसो ४ बजे काठमाडौं फर्किएर राती ८ बजे दोहातर्फ उड्नेछ । अर्को दिन विहान सवा ७ बजे दोहाबाट काठमाडौं अवतरण गर्ने छ । चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको यती एयरलाइन्सले यसअघि सञ्चालनको तयारी गरिरहेको ‘फ्लाई यती’ को नाम परिवर्तन गरेर हिमालय एयरलाइन्स बनाएर साढे दुई अर्ब रुपैयाँ लगानीमा अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिएको हो । 
हिमालयमा एचआइएफ एभियसन इन्भेष्टमेन्ट कम्पनी र यती वल्र्ड इन्भेष्टमेन्ट कम्पनीको मुख्य लगानी रहेको छ । कम्पनीमा ५१ प्रतिशत नेपाली र ४९ प्रतिशत तिब्बत एयरलाइन्सको लगानी छ । 

अहिले सो एयरबस चीनको चेङ्दुमा रहेको छ । यसअघि नै व्यवसायिक उडान सुरु गर्ने तयारी गरेको कम्पनीले भूकम्पका कारण कार्यतालिका सारेको थियो। केहि समयभित्र अर्को चरणमा १२८ सिट क्षमताको ए३१९ विमान भित्र्याई व्यबसायिक उडान बिस्तार गर्ने समेत योजना रहेको महाप्रवन्धक केसीले जानकारी दिए।

Comments