कांग्रेस महाधिवेशनको इतिहास र कांग्रेस हांक्ने सारथीहरु
कांग्रेसको इतिहास लामो छ । समकालीन राजनीतिमा कांग्रेसजत्तिको पुरानो राजनीतिक दल नेपालमा छैन । लामो समयदेखि देशको राजनीतिको केन्द्रमा रहेको कांग्रेसलाई कसैले कसैले पाखा लगाउन सकेको छैन । केही राजनीतिक दलले उसलाई चुनौती दिए पनि कालान्तरमा कांग्रेस नै शक्तिशाली भएर उभिइरहेको छ । उसको सदाबाहर राजनीतिक चमकलाई कसैले पनि खोस्न सकेको छैन ।
२००६ चैत २७ मा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस एक भएपछि नेपाली कांग्रेस बनेको कांग्रेसले यो बीचमा धेरै आरोह र अवरोधहरु झेल्यो । विभाजनसम्मको अवस्था पनि यसले भोग्यो । तर, जतिसुकै आरोह अवरोह उसको जीवनमा देखा परे पनि कांग्रेसले आफ्नो खास भने जोगाउंदे आएको छ भलै उसले आफ्नो मूल्य, मान्यता र आदर्श बिर्संदै गए पनि ।
विसं २००३ मा भारतमा पहिलो महाधिवेशन सकाएको थियो कांग्रेसले । त्यही कांग्रेस अहिले १३ औं महाधिवेशन गरेर नयां नेतृत्व चयन गर्दै छ ।
कांग्रेस महाधिवेशनको इतिहास
भारतको कलकत्तास्थित भवानीपुरमा २००३ माघ १२ र १३ गते सम्पन्न महाधिवेशनमा नेपाली कांग्रेसको जन्म भएको थियो । त्यसअघि यसको नाम नेपाली राष्ट्रिय कांग्रेस थियो ।
पहिलो महाधिवेशनः– २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय कांग्रेसको जन्म दियो । त्यसै सम्मेलनलाई नेपाली कांग्रेसको प्रथम राष्ट्रिय महाधिवेशन मानिन्छ ।
महाधिवेशनले तत्कालीन अवस्थामा जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापतिमा निर्वाचित गर्यो । विश्वेश्वरप्रसाद कोइराला कार्यवाहक सभापति बने । राणाशासन समाप्त गर्ने वैधानिक संगठनको रुपमा गठित उक्त समितिमा बालचन्द्र शर्मा, डिल्लीरमण रेग्मी, कृष्णप्रसाद भट्टराई, देवव्रत परियारलगायतले जिम्मेवारीपूर्ण नेतृत्व लिएका थिए ।
दोस्रो महाधिवेशनः– मजदुर आन्दोलन र सत्याग्रहबाट अत्तालिएका राणाले धरपकड र दमन जारी राखेकै अवस्थामा नेताको रिहाइ र आन्दोलनलार्ई थप सशक्त बनाउन २००४ सालमा वनारसमा दोस्रो महाधिवेशन सम्पन्न भयो । बिपी कोइरालाको रिहाइ नभएसम्मका लागि डिल्लीरमण रेग्मी कार्यवाहक सभापति बने ।
तेस्रो महाधिवेशनः– तेस्रो महाधिवेशन विसं २००५ मा भएको थियो । महाधिवेशनबाट मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष बने ।
चौथो महाधिवेशनः– नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गते कलकत्तामा एकीकरण भएको हो । एकीकरणपछि पार्टीको नाम नेपाली कांग्रेस राखियो । एकीकरणसँगै पार्टीको चौथो महाधिवेशन पनि सम्पन्न भयो ।
महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापति छानेको थियो । कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेरलगायतले विभिन्न जिम्मेवारी बहन गरे । सम्मेलनले ऐतिहासिक घोषणापत्र २००६ जारी ग¥यो जसले राणाशासनको समाप्तिका लागि आमजनतालाई आह्वान गरी ऐतिहासिक क्रान्तिको घोषणा गर्यो ।
पाँचौं महाधिवेशनः– सात सालको क्रान्तिको सफलतासँगै कांग्रेसको पाँचौं महाधिवेशन २००९ साल जेठमा जनकपुरमा सम्पन्न भएको थियो । विश्वेश्वरप्रसाद कोइराला सभापतिमा निर्वा्चित भएको महाधिवेशनले देशमा यथासक्य चांडो आमनिर्वाचन गराउन सत्याग्रहको घोषण गर्यो। देशव्यापीरुपमा २०११ सालमा दोस्रो सत्याग्रह सुरु भयो ।
छैटौं महाधिवेशनः– छैटौं महाधिवेशन २०१२ साल माघमा वीरगन्जमा भयो । महाधिवेशनबाट सुवर्णशमशेर पार्टी सभापतिमा निर्वा्चित भए । यसै महाधिवेशनले औपचारिक रुपमा समाजवादलाई पारित समेत गरेको थियो । विराटनगर विशेष महाधिवेशन २०१४ ले बिपी कोइरालालाई सभापतिमा, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्रीमा तथा सुवर्णशमशेरलाई कोषाध्यक्षमा मनोनयन गर्यो ।
विशेष महाधिवेशनः– २०१४ जेठ १४ मा विराटनगरमा विशेष महाअधिवेशन भयो । विराटनगरमा भएको विशेष महाअधिवेशनले वीपी कोइरालालाई सभापति बनायो ।
सातौं महाधिवेशनः– विसं २०१६ वैशाख २५ देखि ३१ सम्म काठमाडौंमा भएको सातौैं महाअधिवेशनले वीपी कोइरालालाई पुनः पार्टी सभापति बनायो । पहिलो आम निर्वाचन २०१५ सालको फागुन ७ गतेबाट सुरु भयो । त्यसमा नेपाली कांग्रेसले रुख चिन्ह लिएर लडेको थियो । जम्मा १०९ सिट मन्धे ७४ सिट प्राप्त गरी नेपाली कांग्रेसले शानदार विजय हासिल गर्यो । २०१६ साल जेठ १३ गते विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा नेपालमा प्रथम जन निर्वाचित सरकारको गठन भयो ।
आठौं महाधिवेशनः–आठौं महाधिवेशन झापाको चन्द्रगढीमा २०४८ फागुन १ देखि ३ मा सम्पन्न भयो । यस महाधिवेशनले कृष्णप्रसाद भट्टराईलाई पार्टीको सभापतिमा निर्वाचित गराएको थियो ।
नवौं महाधिवेशनः–नवौं महाधिवेशन अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र काठमाडौंमा २०५३ वैशाख २९ मा सम्पन्न महाधिवेशनले गिरिजाप्रसाद कोइरालालाई सभापतिमा निर्वाचित गरेको थियो ।
दशौं महाधिवेशनः–२०५७ माघ ९ गते पोखरामा सम्पन्न दशौं महाधिवेशनले गिरिजाप्रसाद कोइरालालाई नै पुनः सभापतिमा निर्वा्चित गरेको थियो ।
११ औं महाधिवेशनः– विवादका कारण विस २०५९ मा कांग्रेस टुक्रियो । दुवैले छुट्टाछुट्टै अधिवेशन गरे । संस्थापन पक्षमा गिरिजाप्रसाद कोइराला नै सभापति चुनिए भने, प्रजातान्त्रिक कांग्रेसका सभापति शेरबहादुर देउवा भए ।
१२ औं महाधिवेशनः– कार्यकर्ताको दबाब र राजनीतिक घटनाक्रमले अन्ततः २०६४ मा पार्टी एकीकरण भई १२ औं अधिवेशन विसं २०६७ असोजमा काठमाडौंमा सम्पन्न भएको थियो । उक्त अधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवा र सुशील कोइरालावीच सभापतिमा भिडन्त भएको थियो । महाधिवेशनले सुशील कोइरालालाई पार्टी सभापतिमा निर्वाचित गरायो ।
१३ औं महाधिवेशनः– पार्टीको विधानअनुसार गत असोज ५ मा महाधिवेशन सम्पन्न गर्न विफल भएपछि फागुनमा सरेको हो । नयां विधान संशोधन गरेरै नै पार्टीको महाधिवेशन सारिएको थियो ।
साभार :अखबार दैनिक


Comments
Post a Comment