गुड नेभर्स इन्टरनेशनलले गोरखाका चार स्वास्थ्य चौकी बनाउने


मोहसिन अलि मियाँ
चैत्र १, गोरखा। जिल्लामा कार्यरत अन्तराष्ट्रिय गैररसकारी संस्था गुड नेभर्स इन्टरनेशनलले गत बैशाख १२ गतेको विनासकारी भुकम्पबाट क्षतीग्रस्त भएका गोरखाका चार गाविसका स्वास्थ्य चौकीको पुनः निर्माण गर्ने भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय गोरखासँगको समन्वयमा “स्वास्थ्य चौकी पुनःनिर्माण सहजीकरण परियोजना” अन्तरगत गुड नेभर्स इन्टरनेशनलले गोरखाको फिनाम, थुमी, लापु र मान्बुमा करिब दुइ करोड ३० लाख बराबरको सुबिधा सम्पन्न स्वास्थ्य चौकी बनाउने आज सदरमुकाममा एक कार्यक्रमका बिच घोषणा गरेको जनाएको छ । 

सदरमुकाम स्थित एक होटलमा जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्र ध्वज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गुड नेभर्स इन्टरनेशनलका स्वास्थ्य विभाग प्रमुख राम नरेश यादव, इन्जिनियर सुरेश नहर्की तथा जनस्वास्थ्य कार्यालयका प्राविधिक प्रमुख नानीवाबु दानीले सहजीकरण गर्नु भएको जिएनआई गोरखाका कार्यक्रम संयोजक द्धोण जिसीले जानकारी दिए ।

सन् २०१४ देखी नै जिल्लाका फिनाम, लापु, मान्बु, थुमी र आरुआर्बाङ गाविसमा शिक्षा, स्वास्थ्य, खानेपानी, जिविकोपार्जन लगायतमा कार्य गरिरहेको अन्तराष्ट्रिय गैरसरकारी संस्था गुड नेभर्स इन्टरनेशनलले गत बैशाख १२ को विनासकारी भुकम्प पश्चात आपतकालिन राहत देखी अस्थायी बिधालय निर्माण तथा खानेपानी निर्माणसम्मका कार्य गरिरहेको कार्यक्रम संयोजक जिसीले बताए ।

कार्यक्रममा स्वास्थ्य चौकी निर्माण गर्न लागेका चार गाविसका स्वास्थ्य चौकीका प्रतिनिधी, परियोजना ब्यवस्थापन समितीका सदस्यहरु तथा गुड नेभर्स इन्टरनेशनलका कर्मचारीहरु लगायतको सहभागिता रहेको साथै संस्थाले आगामी दिनमा ति गाविसहरुमा भुकम्पबाट क्षती भएका विधालय भवन समेत निर्माण गर्ने योजना रहेको गुड नेभर्स इन्टरनेशनल गोरखाका जिसीले जानकारी दिए ।

Comments