बच्चा खरिद बिक्रि गरेको भन्दै तीन जना पक्राउ


 


लहान, २३ फागुन ।
 लहानको लवकुश अस्पतालमा प्रहरीले छापा मारेर नवजात शिशु किन्ने महिलासहित दुई नर्सलाई पक्राउ गरेको छ ।
अबैध सम्बन्धबाट जन्मेको बच्चा काख लिने सप्तरी फत्तेपुर १ का दिल कुमारी चौधरी, लवकुश अस्पतालका अनमी शिवकुमारी चौधरी र सिएमए उषा चौधरीलाई लहान प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
शनिबार बिहान अस्पतालमा बच्चालाई जन्म दिएकी महिलाले अस्पतालमै बच्चा जिम्मा लगाएर दिल कुमारीलाई बेचेको सूचना पाएपछि प्रहरी अस्पताल पुगेको थियो । शिशुसहित अस्पतालमा लुकि बसेको अवस्थामा दिलकुमारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
अस्पतालसँग डेलिभरी रेकर्ड माग्दा महिला र बच्चा अस्पतालमा नभएको बताएपछि तलासी गर्दै जाँदा दोस्रो तल्लाको अँध्यारो कोठामा दिलकुमारी बच्चा काखमा लिएर लुकि बसेको फेला परेको प्रहरीले बताएको छ । दिलकुमारीले बच्चा आफ्नो नभई अस्पतालबाट प्राप्त गरेको बताएपछि नर्सहरुसँग सोधपुछ गर्दै जाँदा अर्कै महिलाको कोखबाट उक्त बच्चा जन्मेको र उनी अस्पताललाई बच्चा दिएर गएको खुलेको हो ।
तीन वर्ष अघि बैवाहिक बन्धनमा बाँधिएकी दिलकुमारीका अनुसार आफूलाई चिकित्सकले बच्चा नहुने भनेको बताएकी छिन् ।
यो अस्पतालमा शिशु (स्त्री) साढे २ लाखदेखि चार लाख र पुरूष शिशुको ५ देखि १० लाखमा बच्चा नहुने दम्पतिलाई बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यहाँबाट बच्चा नेपाली र भारतीय दम्पति जसको कोख खाली छ उनलाई बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
लवकुश अस्पतालको बच्चा बेच्ने धन्दा खुलासा भएपछि लहान प्रहरीले सिरहाका अस्पतालहरुमा निगरानी बढाएको छ ।

Comments