ज्वाई ससुरालाई हराउँदै कोइराला महामन्त्रीमा, सिताले चित्रलेखालाई पछारिन: देउवा काँग्रेस सभापति
नेपाली काँग्रेसको १३ औं राष्ट्रिय महाधिवेशनबाट अत्याधिक मात सहित सशांक कोइराला निर्वाचित भएका छन्। प्रभावशाली नेता अर्जुन नरसिंह केसी र उनका ज्वाईं समेत रहेका युवा नेता गगन थापालाई पछी पार्दै सो जीत हात पारेका हुन्।
महामानव बिपी कोइरालाका कान्छा छोरा सशांकको लामो राजनैतिक पृष्ठभुमि नभएपनि पेशाले आँखाको डाक्टर उनी ०४८ देखि राजनीतिमा सक्रिय रहेर महामन्त्रीसम्मको यात्रा तय गर्न सफल भएका हुन्। उनको जीतलाई कोइरालाको प्रभाव कायमै रहेको अर्थमा कांग्रेसजनले लिएका छन्।
संघीयता तथा धार्मिक निरपेक्षताका विरोधी कोइराला संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भई सकेर कार्यान्वयनमुख रहँदा देशको ठुलो दलको नीति निर्माण तहमा बसेर काम गर्ने अवसर पाएका छन्, तर उनले अबको बाटो कसरी तय गर्नेछन भन्ने सर्वत्र चंसोको बिषय हुने निश्चित छ।
कोषाध्यक्ष पदमा झिनो मतान्तरले निवर्तमान कोषाध्यक्ष चित्रलेखा यादवलाई हराउँदै सितादेवी यादव बिजयी भएकी छिन्। आफ्ना पतिको तत्कालिन युद्दमा माओवादीद्वारा हत्या भएपछि पतिको विरासत सम्हाल्दै आएकी यादव काँग्रेसको इतिहासमा पहिलो महिला जिल्ला सभापति भएर काम गरी सकेकी छिन।
१३ औं महाधिवेशनबाट काँग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित भई सकेका छन्। १२औं महाधिवेशनमा स्वर्गीय सुशील कोइरालासित पराजित भएका देउवा १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई भारी मतअन्तरले पराजित गर्दै काँग्रेसको सभापतिमा निर्वाचित भएका हुन। पहिलो चरणमा भएको चुनावमा जम्मा ११ मतले बहुमत पुर्याउन असफल भएपछी भएको दोस्रो चरणको मतदान मार्फत उनले बिजय हासिल गरेका हुन।
आफू निर्वाचित भएपछि देउवाले छोटो प्रतिक्रिया दिंदै भने, ‘यो कसैको हारजीत नभएर सिंगो प्रजातान्त्रिक प्रणाली, नेपाली काँग्रेस र देशको जित हो।’ नवनिर्वाचित सभापति देउवाले यो परिणामलाई हार र जीतको रुपमा नलिन सबै नेता, कार्यकता तथा महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् भने सबैलाई मिलाएर पार्टीलाई एकढिक्का बनाउने प्रतिवद्दता व्यक्त गरेका छन् ।


Comments
Post a Comment