गगनलाई नेबी संघको सदस्यता दिने को?
| नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेल |
निर्मल अर्याल-
न त पारिवारीक विरासत न त कुनै पनि लाभको पदमा पुगेको अनुभव । यद्यपी पूर्वी ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मका महाधिवेशन प्रतिनिधिहरुको मन मस्तिष्क जित्दै नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट प्रदीप पौडेल शशक्त युवा नेताको रुपमा स्थापित हुन सफल भएका छन् । खुल्ला २५ तर्फ १७ सय ९ मत ल्याएर छैठौं स्थानमा आउन सफल नेता पौडेल पटक पटक मन्त्री, सभासद तथा लाभका अन्य पदमा पुगिसकेका हस्तीहरुलाई पछि पार्न सफल भएका हुन् ।अन्तिम समयमा संस्थापन पक्षका खुल्ला २५ उम्मेदवारको सूचीबाट समेत षडयन्त्रपूर्वक हटाइएका ४१ वर्षीय पौडेल खुल्ला २५तर्फ निर्वाचित हुने सबैभन्दा कम उमेरका नेता हुन् । उच्च तार्किक क्षमता भएका शान्त, मिलनसार तथा सरल स्वभावका पौडेल १२ औं महाधिवेशनमा २७ औं स्थानमा परेका थिए । गत पाँच वर्षको अवधिमा पार्टीले दिएको सबै खाले जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गरेका कारण नै बौद्धिक व्यक्तित्व पौडेल अधिकांश मतदाताको मन जित्न सफल भएका हुन् ।
त्यसो त पार्टीलाई उनी जस्तो शशक्त तथा जुझारु युवा नेता अत्यावश्यक भएकाले तत्कालीन पार्टी सभापति सुशील कोइरालाले पौडेललाई गत वर्ष केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । केन्द्रीय सदस्यमा मनोनित भएपछि पौडेलले अरु नेताले गर्न नसकेका कामहरु पूरा गर्दै आफू दक्षता प्रमाणित गरिदिए । शीर्ष नेताहरुले तराईका कतिपय जिल्लामा मिलाउन नसकेको विवाद मिलाउन पौडेल सफल भए । जनसम्पर्क समिति गठन नभएको प्रमुख कम्युनिष्ट राष्ट्र चीनमा जन सम्पर्क समिति गठन गरे भने अन्य मुलुकका जनसम्पर्क समितिलाई अझ क्रियाशील बनाउन प्रेरणादायी भूमिका निर्वाह गरे । महाभूकम्प प्रभावित जिल्लाहरुमा पुगेर एकल नेतृत्वमा सबैभन्दा बढी ५ सय घर टहरा निर्माण गरिदिए । त्यस्तै महाभूकम्प प्रभावित हजारौ जनतालाई आफ्नै हातबाट लाखौंको राहत बाँडे, क्षतिग्रस्त विद्यालयको पुर्ननिर्माणमा अहोरात्र खटिरहे भने पीडित विद्यार्थीहरुलाई आवश्यक स्टेशनरी सामाग्री वितरण गरे ।
राजधानीको सिद्धार्थ वनस्थली स्कुलमा अध्ययन गर्ने क्रममा नै नेविसंघको सदस्यता लिएका पौडेल २०४६ सालको जनआन्दोलनमा पनि निकै सक्रिय रहे । धेरैलाई थाह नहुन सक्छ प्रदीप पौडेलले नै वनस्थली स्कुलमा आफूभन्दा एक ब्याच तल अध्ययनरत अहिलेका अर्का चर्चित युवा नेता गगन थापालाई नेविसंघको सदस्यता प्रदान गरेका थिए ।
सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी पूरा गरेका पौडेल आइएस्सी अध्ययन गर्ने क्रममा अमृत साइन्स क्याम्पसमा भर्ना भए । अनेरास्ववीयूको किल्लाको रुपमा रहेको अमृत साइन्स क्याम्पसमा पौडेलको प्रवेश प्रजातन्त्र पक्षधर विद्यार्थीका लागि वरदान सावित भयो । पौडेल २०५३ सालको स्ववियू निर्वाचनमा नेविसंघको तर्फबाट सभापतिमा विजयी भए । पौडले सभापतिमा विजयी भए पनि अन्य सबै पदमा अनेरास्वावियूले बाजी मारेको थियो । अमृत साइन्स क्याम्पसमा पाएको ऐतिहासिक सफलतासँगै पौडेल देशभर चर्चित विद्यार्थी नेताको रुपमा प्रतिस्थापित भए । अन्तत: यो दुर्लभ जीत नै पौडेलको राजनीतिको टर्निङ पोइन्ट बन्न पुग्यो । पौडेलपछि अमृत साइन्स क्याम्पसमा नेविसंघको कुनै पनि उम्मेदवारले अहिले सम्म जीत हासिल गर्न सकेका छैनन् । त्यसपछि क्रमशः नेविसंघको केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै २०६४ सालमा पौडेल कीर्तिमान ढंगले नेविसंघको केन्द्रीय अध्यक्ष बन्न सफल भए ।
नेविसंघको इतिहासमा नै सबैभन्दा बढी मतान्तरले अध्यक्षमा विजयी हुने कीर्तिमान प्रदीपकै नाममा छ । नेविसंघको अध्यक्ष भए लगत्तै उनले सामुदायीक विद्यालय सुधारका लागि विशेष योजनाहरु कार्यान्वयन गरे भने स्कुल स्कुलमा नेविसंघको इकाइ गठन गर्ने वातावरण तयार गरे । पौडेले नेविसंघको केन्द्रीय अध्यक्ष हुँदा भएको स्ववियू निर्वाचनमा चीर प्रतिद्वन्द्वी अनेरास्ववियूलाई पछि पार्दै नेविसंघ पहिलो भयो । २०५९ सालको प्रतिमगन विरोधी आन्दोलन तथा २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रको शाही कु पछि सबैभन्दा बढी जेलनेलको सामना गर्ने विद्यार्थी नेताहरु मध्ये प्रदीप प्रमुख हुन् । वीपी कोइरालालाई आदर्श मान्ने अविवाहित पौडेल राष्ट्रिय राजनीतिका लामो दूरीका घोडा हुन् ।
(साभार: दैनिक नेपाल)

Comments
Post a Comment