नेजस अमेरिकाका अध्यक्ष विष्टको कार्यशैली प्रति कार्यसमितिका सदस्य असन्तुष्ट

२३ फेब्रुअरी, २०१६ क्यालिफोर्निया । नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टका पछिल्ला गतिविधिलाई लिएर कार्यसमितिका अधिकांश सदस्य तथा अन्य पदाधिकारीहरु रुष्ट भएका छन् । हिजोमात्रै जनसम्पर्क समितिका बरिष्ठ उपसभापति, सभापतिलगायतले विष्टको कार्यशैलीलाई लिएर संयुक्त विज्ञप्ति जारी गरेको २४ घण्टा वित्न नपाउँदै आज फेरि वर्तमान कोषाध्यक्ष विजय थुलुङ्ग र सचिव ईश्वर सापकोटाले विष्टको कायैशैलीको तीव्र विरोध जनाउँदै विज्ञप्ति निकालेका छन् ।
विशेष गरी जनसम्पर्क समिति भित्र विष्टले एकलौटी ढंगले आफ्नो निर्णय लाद्न खोजेको, पार्टी र संस्थाको हित विपरित काम गरेको भन्दै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु रुष्ट भएका हुन् । पछिल्लो समयमा पार्टीको आसन्न १३ औं महाविधेशन नजिकिँदै गर्दा विष्टले कार्यसमितिमा सल्लाह नै नगरी आफूखुसी ढंगले प्रतिनिधि तोक्ने काम गरेको भन्दै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले यस्ता गतिविधिलाई अलोकतान्त्रिकको संज्ञा दिएका छन् ।
हाल जनसम्पर्क समिति अमेरिकाभित्र अध्यक्ष विष्टले आफूखुसी निर्णय गर्ने र त्यसलाई कार्यसमितिमा लाद्ने कोशिष गरेको आरोप सार्वजनिकरुपमै लागेको छ । विष्टको कार्यशैली र उहाँले गरेको महाविधेशन प्रतिनिधि छनौटलगायतका विषयमा असहमति जनाउँदै हिजोमात्रै पार्टी मुख्यालय सानेपामा जनसम्पर्क समितिका तर्फबाट निवेदन दर्ता भएको छ । जनसम्पर्क समितिमा विष्टको कार्यशैलीलाई लिएर असन्तुष्टि पोख्नेहरुले यस्तै अवस्था रहे जनसम्पर्क समितिले महाविधेशनका लागि अर्को लिष्ट पठाउन सक्ने चेतावनी पनि दिएको छ ।

Comments