धनुषामा नेपाल प्रहरीले एक बैबाहिक कार्यक्रममा गोली चलायो , दुई घाइते


जनकपुरधाम,फागुन १६ गते ।

धनुषामा नेपाल प्रहरीले एक बैबाहिक कार्यक्रममा गोली चलाएको छ । प्रहरीले जवाफि गोली चलाउँदा दुई जना घाइते भएको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले बताएका छन् ।
तर स्थानीयवासीले प्रहरीले अन्दाधुन्द गोली चलाउँदा दुई जना घाइते भएको बताएका छन् ।धनुषा जिल्लाको सबैला नगरपालिकामा एउटा वैवाहिक कार्यक्रमअन्तर्गत मटकोर भइरहेको बेला चर्को स्वरमा बाजा घन्काइएपछि क्रुद्ध स्थानीय प्रहरीले गोली प्रहार गरेको स्थानीयहरुको आरोप छ ।शनिबार राति करिब ९ बजेको समयमा सबैला नगरपालिकास्थित दीपनारायण मण्डलको छोरीको वैवाहिक उत्सवअन्तर्गत मटकोरको विधि मनाउने क्रममा लाउडस्पीकर बजाएर नाचगान भइरहँदा करिब १० जनाको समूहमा रहेको प्रहरी टोलीले बिना चेतावनी गोली चलाएपछि स्थानीय युवकहरु विमल मण्डल र कमलेश मण्डल घाइते भएका हुन् ।ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी हबल्दार सुरेन्द्र यादबले युवकहरुमाथि गोली फायर गरेको स्थानीयहरुको कथन छ ।गम्भीर घाइते विमललाई तीघ्रा र कमलेशलाई काँधमा गोली लागेको छ । धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले युवकहरुबीच एकापसमा भइरहेको झगडा छुटाउन जाँदा झगडियाहरुबीच बाटै कसैले प्रहरीमाथि गोली चलाउँदा जवाफी फायरिंगको क्रममा केही घाइते भएको बताए ।घाईते दुवै जनालाई जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।
 

Comments