पुर्व मन्त्रि लगाईतका नेताहरु अख्तियारको सूचीमा , बालुवाटार बैठकमा लोकमानको विरोध ।

काठमाडौं , २० मंसिर  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमालेका ६ नेताहरुसहित २९ जना पूर्वमन्त्री, सांसद, पूर्वप्रशासक एवं उच्च पदस्थविरुद्ध पत्र काटेपछि एमालेभित्र भाँडभैलो मच्चिएको छ । पार्टीको माधव नेपाल पक्षधर समूहले यसबारे स्थायी कमिटी बैठकमा कडाइपूर्वक कुरा उठाउने भएको छ । चितवनमा सोमबारदेखि हुन लागेको तराईका २२ जिल्लाको दुई दिने भेलामा एमालेका शीर्षनेताहरु जमघट हुँदैछन्, जहाँ अख्तियारको कारवाही सम्बन्धी प्रकरणसमेत उठ्ने एक नेताले  बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार एमालेका ६ जना नेतासहित विभिन्न २९ जना उच्चपदस्थहरुलाई सात दिनभित्र आयोगमा उपस्थित हुन भन्दै पत्र काटेको छ । अख्तियारले एमाले नेताहरु राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, बंशीधर मिश्रलाई पत्र काटेको छ ।त्यसैगरी एमाले सांसद इच्छाराज तामाङ, जनार्दन ढकाल र पूर्वसांसद विजय पौडेललाई पनि पत्र काटेको छ । अख्तियारको छानविनमा परेका जनार्दन ढकाल बाहेक यी सबै माधव नेपाल पक्षका नेता हुन् ।पत्र काटिएका नेताहरुको बैंक खाता रोक्का गर्न अख्तियारले शुक्रबार नै सबै बैंकका सीइओहरुलाई निर्देशन दिइसकेको छ । बालुवाटार बैठकमा लोकमानको विरोध प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकमा नेताहरुले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको खुलेर विरोध गरेका थिए । सो बैठकमा अख्तियार प्रमुख कार्कीको विरोध गर्नेहरुमा माधव नेपाल पक्षका नेता थिए । एमाले स्रोतका अनुसार सो बैठकमा देशमा बढिरहेको कालोबजारी नियन्त्रण हुन नसकेको सन्दर्भ उठेको थियो । आयल निगमका हाकिम गोपाल खड्कामाथि कारवाही हुनुपर्ने नेताहरुले कुरा उठाएका थिए । एमाले उपपमहासचिव घनश्याम भुसालले हामीले कस्तो राज्य र कस्तो लोकतन्त्र बनायौं भन्दै स्थायी कमिटी बैठकमा प्रश्न उठाएका थिए । चीनको नाका खोल्न र सम्झौता गर्न आनाकानी गर्ने र तेलको कालोबजारी हुँदा पनि कारवाही हुन नसक्ने अवस्था आएको भन्दै भुसालले बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका माथि प्रश्न उठाए । लोकमानलाई अख्तियार प्रमुखमा गरिएको नियुक्ति र सोको प्रक्रिया नै गलत रहेको भुसालले बैठकमा बताए ।एमाले स्थायी कमिटी बैठकको बहसबारे जानकारी दिँदै स्रोतले भन्यो( ‘बैठकमा माधव नेपाल कामरेडले लोकमानसिंह कार्कीको नियतमाथि प्रश्न उठाउनुभयो । कार्कीले प्रतिशोध र पूर्वाग्रहका आधारमा काम गरिरहेको नेता नेपालले बैठकमा बताउनुभयो ।’‘त्यसपछि बैठकमा धेरै नेताहरुले लोकमानका विषयमा कुरा गरे, तर स्थायी समितिमा भएको यो छलफलको सम्पूर्ण सूचना हाम्रै नेताहरुले लोकमानसम्म पुर्‍याएछन्’ स्रोतले अनलाइनखबरसँग भन्यो( ‘यही कारणले माधव नेपाल पक्षका नेताहरुको बैंक खाता रोक्का गर्नेसम्मको कारवाही कार्कीले अघि बढाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल पक्षका नेताहरुलाई मात्रै छानेर पत्र काटेको नेपाल पक्षका नेताहरुको आरोप छ । यसबारे नेपाल पक्षका एक नेताले भने ‘यो सूचीमा विष्णु पौडेल र वामदेव कामरेडको नाम छैन, हामीले थाहा पाए अनुसार कुन(कुन नेतालाई पत्र काट्ने भन्नेबारे लोकमानसँग एमालेकै एक नेताले बसेर छलफल गरेको बुझिएको छ, यसबारे अब बस्ने स्थायी कमिटी बैठकमा कुरा उठ्छ ।’पार्टी अध्यक्ष केपी ओली अख्तियार प्रमुख लोकमानसिंह कार्कीको पक्षमा रहेको र ओली पक्षकै केही नेताले नै आफ्नै पार्टी नेतालाई फसाउने काम गरेको माधव नेपाल पक्षको गम्भीर आरोप छ ।

लोकमानलाई हटाउनु फलामको च्युरा


नेताहरुमाथि भ्रष्टाचारको अभियोगमा छानविन थालिएपछि एमालेभित्र अख्तियार प्रमुख लोकमानलाई महाअभियोग लगाएर हटाउने विषयमा समेत छलफल सुरु भएको छ ।अख्तियारले एमाओवादी अध्यक्ष प्रचण्ड पक्षका नेता कृष्णबहादुर महरा, रवीन्द्रप्रताप शाह, रामकुमार श्रेष्ठ र ल्हारक्याल लामालाई समेत पत्र काटेकाले लोकमानको विरोधमा एमाओवादीलाई समेत साथ लिन सकिने एमाले नेताहरुको विश्वास छ ।एमालेका एक नेताले गरेको दाबी अनुसार यतिबेला ज(जसले भारतीय नाकाबन्दीको विरोध गरेका छन्, तिनैलाई मात्रै अख्तियारले तारो बनाएको छ ।तर, लोकमानलाई अख्तियारबाट हटाउन संसदमा महाअभियोगको प्रस्ताव ल्याउनुपर्ने हुन्छ र त्यसमा दुई तिहाइ बहुमत चाहिन्छ । त्यसो गर्नका लागि विपक्षी दल नेपाली कांग्रेसको पनि सहमति आवश्यक पर्छ । तर, अहिले अख्तियारले पत्र काटेको सूचीमा कांग्रेसका नेताहरुको नाम छैन । भूकम्पको जस्ता र त्रिपाल काण्डमा नाम मुछिएका कांग्रेस नेताहरुलाई अख्तियारले सूचीमा नपारेका कारण कांग्रेसले लोकमानलाई हटाउने विषयमा एमाले र एमाओवादीलाई साथ दिने सम्भावना छैन । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको अगुवाइमा पत्र काटिएका एमालेका ६ र एमाओवादीका ४ बाहेक अन्य केही पूर्वमन्त्रीहरु र पूर्वप्रशासकका साथै बहालवाला सचिव र प्रहरी अधिकारीसमेत छन् ।बरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई पनि अख्तियारले पत्र काटेको छ । त्यस्तै माले महासचिव सीपी मैनालीकी पत्नी नीलम केसी, राष्ट्रपतिका पूर्व सल्लाहकार एवं पूर्वमन्त्री विद्याधर मल्लिकलाई पनि पत्र काटिएको छ । खिलराज रेग्मी सरकारका मन्त्रीहरु रामकुमार श्रेष्ठ, छविराज पन्त, शंकर कोइराला, उमाकान्त झा र टेकबहादुर थापा घर्तीलाई पनि पत्र काटिएको छ ।त्यस्तै बह!लवाला सचिवहरुमा स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठ, सिँचाइ सचिव अनुपकुमार उपाध्याय र कृषि सचिव उत्तमकुमार भट्टराईलाई पनि अख्तियारले पत्र काटेको छ । त्यस्तै अतिरिक्त प्रहरी महानिरीक्षक ९एआएजी० राजेन्द्रसिंह भण्डारी र त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआइजी विजयलाल कायस्थलाई पनि आख्तियारले पत्र काटेको छ । एमाओवादी सांसद तथा पूर्व आइजी रवीन्द्रप्रताप शाह र पूर्वमुख्यसचिव भोजराज घिमिरे पनि अख्तियारको सूचीमा परेका छन् । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका सांसद बाबुराम पोखरेल र गीता राणा पनि अख्तियारको सूचीमा परेका छन् । कांग्रेसका सांसद उमेश श्रेष्ठलाई पनि अख्तियारले पत्र काटेको छ ।
पोखरेल भीएस निकेतन, राणा ग्यालेक्सी र श्रेष्ठ लिटिल एञ्जेल्स स्कुलका सञ्चालक समेत हुन् । उनीहरू माथि पैसा खुवाएर सांसद पद किनेको आरोप लाग्दै आएको छ । त्यस्तै राप्रपाका सांसद तथा ठेकेदार कम्पनी सञ्चालक विक्रम पाण्डे, व्यवसायी राजकुमार अग्रवाल र आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पनि अख्तियारले पत्र काटेको छ ।

२९ जनाको खाता रोक्का, राष्ट्र बैंकले विवरण माग्यो

यसैवीच छानविनको सूचीमा परेका २९ जनाको खाता रोक्का गर्न अख्तियारले बैंकहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकलेसमेत उच्चपदस्थ सरकारी अधिकारी एवं नेताहरुको खातामा कति पैसा छ भन्ने विषयमा अनुसन्धान थालेको छ । यस क्रममा राष्ट्र बैंकले सम्पूर्ण बैंकहरुलाई पत्र पठाई नेता एवं उच्चपदस्थहरुको खाता सम्बन्धी विवरण उपलब्ध गराउन भनेको छ । अख्तियारले ठूला व्यक्तिलाई कारबाही नगरेको र साना माछा मात्रै समातेको आरोप लाग्दै आएका बेला उच्च पदस्थमाथि छानबिन थालिएको हो ।

Comments