मधेशीको माग पुरा नभए काठमाडौंमा सत्याग्रह गर्ने भारतीय नेताको घोषणा



काठमाडौं, १९ मंसिर । गत बिहिबार सिरहामा घाईते भएका आन्दोलनकारीहरुलाई भेट्न सीमावर्ती सहर सीतामढी पुगेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दुई नेता राजेन्द्र महतो र महेन्द्र यादवले भारतीय नेताहरुसँग पनि भेटघाट गरेका छन् ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले राष्ट्रिय जनता दलका वरिष्ठ नेता एवं भारत सरकारका पूर्व केन्द्रिय मन्त्री रघुवंश प्रसाद सिंहसँग भेट गरेका छन् । भेटका क्रममा पूर्व मन्त्री सिंहले जारी मधेश आन्दोलनमा पूर्ण समर्थन रहेको बताएका छन् ।

मधेश आन्दोलनको समर्थनमा भारत सीमामा मैत्री यात्रा पनि निकालिने भएको छ । भारतबाट पत्रकार पंकज दासले जनाए अनुसार पूर्व मन्त्री तथा मिडिया फोर बोर्डर हार्मोनीका संरक्षक सिंहको सक्रियतामा सीमा क्षेत्रमा मैत्री यात्रा निकाल्न लागिएको हो ।

पूर्व मन्त्री सिंहले मधेश आन्दोलनका क्रममा मधेशी जनतामाथि दमन हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै जारी आन्दोलनमा आफ्नो दल आरजेडी र बिहारका सम्पूर्ण जनताको साथ रहेको आश्वासन दिएका छन् ।

उनले नेपाल सरकारले मधेशको माग सम्बोधन नगरे हजारौं जनताका साथमा काठमाडौं आई सत्याग्रह गर्ने घोषणा पनि गरेका छन् ।

Comments