प्रहरीकै सम्लग्नतामा झापामा पेट्रोलियम पदार्थको कालोबजारी



झापा, २१ मङ्सिर । झापामा प्रहरीकै मिलेमत्तोमा पेट्रोलियम पदार्थको कालो बजारी हुने गरेको पाइएको छ । दक्षिणी झापाको पथरियास्थित आमवारीबाट प्रहरीको स्कटिङ्गमा दुईवटा पिकअप भेनमा गएराति पौने एक बजे ४ हजार ५ सय लिटर डिजेल र २ सय ५० लिटर पेट्रोलसहित स्थानीयवासीले दई जना प्रहरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापालाई वुझाएसंगै यस्तो रहस्य खुलेको हो ।

कोचिला गाभुर फ्रन्टसहित स्थानीयवासीको अगुवाइमा कालो वजारी नियन्त्रणका लागि गठित समितिले प्रहरीको स्कटिङ्गमा भारतबाट अवैध रुपमा ल्याइदै गरेको सो परिमाणको तेल सशस्त्र प्रहरीवल सिमा सुरक्षा कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापालाई राति नै संयुक्त रुपमा बुझाएको कोचिला गाभुर फ्रन्टका अध्यक्ष खगेन्द्र राजवंशीले जानकारी दिनुभयो ।
हेमराज संग्रौला र सुमन चिमरियाको नाममा ल्याईएको तेल प्रहरी हवल्दार रमेश कार्की र प्रहरी जवान गणेश कटुवालले मोटरसाइकलबाट स्कटिङ गर्दै बिर्तामोड तर्फ लादै गर्दा नियन्त्रणमा लिएको बताइएको छ । मे १ च १८३३ र को १ च ८२८७ नम्वरको सवारीमा ड्रममा राखेर ल्याइदै गरेको तेल र प्रहरीले प्रयोग गरेको मोटरसाइकल सहित तेल तस्करीमा सम्लग्नले प्रयोग गरेका तीनवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापालाई बुझाइएको राजवंशीले बताउनुभयो । तेलको कालो वजारीमा सम्लग्न भने मोटरसाइकल छाडेर फरार रहेको बताइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञावालीले प्रहरीको मनोवल घटाउन उनीहरुले यस्तो आरोप लगाएको बताउनुभयो । तेलको कालोवजारीमा प्रहरीको कुनै सम्लग्नता नरहेको जनाउदै नेपालमा इन्धन अभाव भइरहेको समयमा आफूहरुले केही आँखा चिम्लएका भने छौं –प्रहरी उपरीक्षक ज्ञावालीले भन्नुभयो ।

यसअघि पनि वनियानीबाट कोचिला गाभुर फ्रन्टका कार्यकर्ताले पक्राउ गरी प्रहरीलाई वुझाएको ४ हजार ४ सय लिटर डिजेल प्रहरीले एक घण्टा वित्न नपाउदै छाडेपछि स्थानीवासीले वनियानी प्रहरी चौकीमा घेराहाली नारावाजी गरेका थिए ।

Comments