सिरहाका प्रहरी प्रमुख ज्ञावलीमाथि कारवाहीको माग

सरोज कुमार पासमान
मंसिर १, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम लाल ज्ञावलीमाथि सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै कारवाहीको माग गरिएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष प्रमोद यादव, एनेकपा माओवादीका जिल्ला सदस्य महेश यादव र सद्भावना पार्टीका राष्टिय सल्लाहकार धनिकलाल यादवले संयुक्त रुपमा उक्त विज्ञप्ती जारी गर्दै सम्बन्धित निकायसँग कारवाहीको माग गरेका हुन् ।
सिरहाको हकपारामा पोखरीमा माछा मार्ने विवादको सिलसिलामा छलफलको लागि जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षको झगडिया र जिल्लाका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा अन्य पक्षका व्यक्तिलाई बोलाएको थियो त्यस क्रममा झगडिया दुबै पक्षबीच हातपात भएको बहाना बनाएर केही दलालहरुको इसारामा नाच्दै प्रहरी उपरिक्षक ज्ञावलीले छलफलमा बसेकाहरुमाथि लाठी प्रहार गरेको थियो ।
नेकपा एमालेका जिल्ला कमिटि सदस्य तथा युवा संघका केन्द्रिय सदस्य रविन्द्र साह, अनेरास्ववीयु केन्द्रिय अनुशासन आयोगका सदस्य जीवछ नारायण यादव, युवा संघ नेपालका जिल्ला सदस्य निरज गोहिवार, क्षेत्र नं ३ का अध्यक्ष राजेश यादव, सद्भावना पार्टीका राष्टिय सल्लाहाकार सदस्य धनिकलाल यादव, एनेकपा माओवादीका जिल्ला सदस्य महेश यादव, सेवा निर्वित जनस्वास्थ्य अधिकृत रामऔतार यादव लगायत प्रहरी उपरिक्षकको लाठी प्रहारबाट घाइते भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रहरी उपरिक्षक जस्तो जिम्मेवार व्यक्तिले जिल्लाको भद्र भलादमीहरु सहभागी भएको छलफलमा गैर जिम्मेवारी प्रदर्शन गर्दै लाठी प्रहार गरेको घटनाप्रति घोर भत्सर्ना गर्दै कडा कारवाही गर्न सम्बन्धित निकायसँग उक्त विज्ञप्ती मार्फत माग गरिएका हुन् । कानूनी शासन, लोकतान्त्रिक विधि मूल्यमान्यतालाई उलंघन गरी कानून आफ्नो हालमा लिई बर्वर र निरंकुशताको पराकाष्टा नाघ्दै निहत्थामाथि लाठी प्रहार गर्नै प्रहरी उपरिक्षकमाथि कडा करवाही नगरिए कडा भन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिइएको छ । यसै घटनालाई लिएर नेकपा एमालेले प्रहरी उपरिक्षकमाथि कडा कारवाहीको माग गर्दै पार्टीको तर्फबाट अलगै विज्ञप्ती पनि जारी गरेको छ ।

Comments