मिथला समुदायमा भ्रातृ द्वितीया पर्व आज मनाइँदै


सिरहा, कात्तिक २७  मैथिल र भोजपुरी समुदायमा दाजुभाइ–दिदीबहिनीबिचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको भ्रातृ द्वितीया अर्थात् भरद्वितीया बिहानैदेखि धार्मिक विधिअनुरूप हर्षोल्लासका साथ मनाइँदैछ ।
भर द्वितीया दीर्घायु तथा सुख, समृद्धिको कामना गर्दै दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने चाड मान्निछ । धर्म, संस्कृति र चाडबाडका दृष्टिले समृद्ध मैथिल र भोजपुरी समाजमा मनाइने अनेक पर्वहरूमध्ये यस पर्वमा दाजुभाइ–दिदीबहिनीबीचको पवित्र, स्नेही, आत्मीय र निःस्वार्थ सम्बन्धलाई उजागर गरेको छ ।
कात्तिक शुक्ल पक्ष द्वितीयाका दिन मनाइने हुनाले यस पर्वलाई भर भाइ द्वितीया भनिएको हो । यस दिन मैथिल र भोजपुरी समुदायका घर घरमा दिदीबहिनीले हर्षोल्लासका साथ आफ्ना दाजुभाइका लागि मीठो मीठो खानेकुराको परिकार बनाउने चलन छ ।
बिहान नुहाइधुवाइ गरी घरको आँगनमा पिठारको ९चामलको पिठो० अर्पणा बनाई त्यसमाथि सिन्दूर र अबिरले सजाएर राखिएको ठाउँमा काठको पिर्कामाथि दाजुभाइलाई बसाएर उनको निधारमा टीका लगाई दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने गर्दछन् ।
पूजाका क्रममा दाजुभाइले दुवै हात अञ्जुली बनाएर बस्छन् । त्यसमा दिदीबहिनीले पा“चवटा पानको पात, सुपारी, द्रव्य र कुभिन्डोको फूल राखेर पवित्र जल हाल्दै धार्मिक विधिअनुरूप मन्त्रोच्चारणसहित दाजुभाइलाई तीन पटक पूजा गर्छन् ।
पूजा सम्पन्न भएपछि दाजुभाइले आफ्नो गक्षअनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना, लत्ताकपडा अथवा रुपैया“ पैसा दक्षिणास्वरूप दिने प्रचलन छ । त्यसपछि दिदीबहिनीले पकाएका मीठा मिठा परिकार दाजुभाइले ग्रहण गर्छन् । दाजुभाइलाई खुवाएपछि मात्र दिदीबहिनीले पनि भोजन ग्रहण गर्छन् ।
पौराणिक कथाअनुसार, सत्ययुगमा बहिनी यमुनाले दाजु यमराजलाई आफ्नो घर आउन निम्ता गरिन् । आफ्नो घर आएको दाजु यमराजलाई पूजाआजा गरी विभित्र प्रकारका मीठा मीठा खानेकुरा खुवाएर बहिनी यमुनाले खुब सम्मान र सत्कार गरिन् । बहिनीको सम्मान र सत्कारबाट खुसी भई यमराजले बहिनी यमुनालाई वरदान माग्न भने ।
बहिनीको इच्छाअनुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाइले परस्परमा पूजाआजा गरी इच्छा सिद्धि गर्न पाउन् भनी यमराजले वरदान दिएकाले त्यसैबेलादेखि कात्तिक शुक्ल द्वितीयाका दिन भ्रातृ द्वितीया गर्ने परम्परा बसेको धार्मिक विश्वास छ । यमुनाले दाजु यमराजलाई भोजन गराएर यसै द्वितीयाका दिन वरदान प्राप्त गरेकीले यस पर्वलाई यमद्वितीया पनि भनिने गरिन्छ ।
भ्रातृ द्वितीया दाजुभाइ–दिदीबहिनीका लागि विशेष उत्सवको दिन हो । घरबाट टाढिएर बसेका दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीय र स्नेही सम्बन्ध कायम राख्न भ्रातृ द्वितीयाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

Comments