आमाको हत्या गरेको आरोपमा युवक पक्राउ

१ मंसिर, गौशाला । परपुरुषसँग अवैध सम्बन्ध रहेको भन्दै आफ्नै आमाको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको हतिसर्वा गाविस– ६ बस्ने १८ वर्षीय युवक मोतिराम महरा रहेको जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
महराले मेघनाथ गोरहन्ना गाविस– ७ का विद्या पासवानसँग आफ्नी आमाको अवैध सम्बन्ध रहेको भन्दै हत्या गरेका थिए । अवैध क्रियाकलापमा संलग्न रहेकै अवस्थामा उनले आफ्नी आमा ४५ वर्षीया रामकुमारी देवी र परपुरुष विद्या पासवानलाई गत शनिबार राति मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आफ्नो गाउँमै लुकिरहेको अवस्थामा प्रहरीले युवक महरालाई पक्राउ गरी जिप्रका महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाएको जिप्रका महोत्तरीले जनाएको छ ।
गत आइतबार बिहान ९ बजेको समयमा प्रहरीले मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा विद्या पासवान र रामकुमारी देवीको शव बरामद गरेको थियो । रासस

Comments