प्रधानमन्त्री ओलीले भने ‘कांग्रेसलाई पनि चल्ला दिने अण्डा बनाउँछु’

रमेश गिरी उज्यालो । भक्तपुर, कात्तिक २६ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई पनि सरकारमा आउँन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बिहीबार मध्यपुरथिमिको शंखधर चोकमा गरेको नेपाल संवत ११३६ नयाँ वर्षको कार्यक्रममा उहाँले अरु सबै दल सरकारकामा आएले कांग्रेसलाई सरकारबाट अलग नरहन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो ‘एउटै पिर्कामा बसौं भनेको हो, कसो कसो पिर्का सारेर उहाँहरु परतिर बसिदिनुभो, उहाँहरुलाई पनि यही पिर्कामा ल्याउनुपर्छ, मलाई विश्वास छ उहाँहरु आउँनुहुन्छ, देश बनाउने कुरा भएकाले म उहाँहरुलाई ल्याउँछु । अहिलेको सरकरमा माले, मसाले, मण्डले सबै छन्, अहिले पहिलाको जस्तो माले, मसाले, मण्डले होइनन्, परिवर्तन भइसकेका छन् ।’ कांग्रेसलाई सरकारमा आउन आग्रह गर्दै उहाँले भन्नुभयो  ‘सबै दल सरकारमा बस्ने तर कांग्रेस मात्रै सरकारमा नबस्दा अरु सबै अण्डाबाट चल्ला बन्ने तर एउटा मात्रै अण्डाबाट चल्ल नबने जस्तो भयो, म अलि बढी तातो दिएर त्यसलाई पनि चल्ला नै बनाउँछु ।’
प्रधानमन्त्री ओलीले नेकपा–माओवादीको माग पनि पुरा भएको तर्क दिँदै भन्नुभयो ‘मोहन वैद्यको माग मैले बोकेकै माग हो, उहाँको उदेश्य पनि नागरिकको शासन हुनुपर्छ, राष्ट्रिय स्वाभिमान हुनुपर्छ भन्ने नै हो, अहिलेको सरकार जनता कै सरकार हो, भन्नुस् नागरिकका लागि के के गर्नुपर्छ त्यो सरकारले पुरा गर्छ ।’ प्रधानमन्त्री ओलीले नाकाबन्दीका कारण नागरिकले असाधारण कष्ट भोग्नु परेको बताउँदै यो कष्टको समय धेरै दिन नजाने बताउनभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले देशमा आइपरेको जस्तोसुकै संकटको पनि सबै एकै ठाउँमा उभिएर सामना गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘देशको संकटमा के सत्तप पक्ष, के प्रतिपक्ष सबै एकबद्ध भएर एकै ठाउँमा उभिएर समस्या र चुनौतीको सामना गर्नुपर्छ, हिमाल, पहाड, तराई सबै ठाउँका जनतालाई साथमा लिएरु अगाडि बढ्नु पर्छ ।’
कार्यक्रममा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आन्दोलनरत दलको माग र भारतको नाकाबन्दी खोल्नेगरी सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । भारतको नाकाबन्दीलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्ने र स्वाभिमानका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

Comments