एमालेका प्रभावशाली नेताद्धारा पार्टी परित्याग


जलेश्वर, २३ कार्तिक । महोत्तरीमा ठूलो संख्यामा नेकपा एमालेका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । नेकपा एमाले जिल्ला कार्य समिति महोत्तरीबाट सैयौं सदस्यले मधेश आन्दोलनको समर्थन गर्दै सामूहिक रुपमा पार्टी परित्याग गरेका हुन् ।सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमालेको पिपरा गाउँ कमिटीका सबै सदस्यले सामूहिक रुपमै पार्टी परित्याग गरेको जनाएका छन् । उनीहरुले पार्टीको नीति मधेश हित विपरित रहेकोले पार्टी परित्याग गरेको बताएका छन् ।निवर्तमान पिपरा गाविस अध्यक्ष एवं जिल्ला कार्यसमिति सदस्य तथा नेकपा एमाले महोत्तरीको खम्बाका रुपमा परिचित रामजानकी यादव, सदस्य निलम यादव, नेकपा एमाले क्षेत्रीय उपाध्यक्ष क्षेत्र नं ३ का विजय साह, गाउँ कमिटी सदस्य किशोरी साह, गाउँ कमिटी सदस्य जो कुमार दास, राम एकवाल कापड, राम जीवन कापड, गाउँ कमिटी उपाध्यक्ष जिवछ पासवानलगायत सम्पुर्ण पिपरा गाउँ कमिटीले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन् ।गाउँ कमिटीद्वारा जारी गरिएको विज्ञप्तिमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतका नेताको मधेशप्रतिको व्यवहार र क्रुरताबाट आम मधेशी कार्यकर्ता मर्माहत भएको उल्लेख गरिएको छ ।जिल्ला समिति सदस्यहरुले संघीयताविरोधी चित्रबहादुर केसी र कमल थापासँग पार्टीले साँठगाँठ गरेकोप्रति पनि आपत्ति प्रकट गरेका छन् ।नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य रमन पाण्डेय लगायतको उपस्थितिमा प्रेस विज्ञप्ती सार्वजनिक गर्दै रामजानकी यादव लगायतले अब पार्टीमा कहिल्यै नफर्किने र मधेश तथा मधेशीको हक अधिकार दिलाउन आन्दोलनमा लाग्ने बताए ।

Comments