सप्तरीका सिडिओ ठाकुर काठमाडौं फिर्ता

काठमाडौं, मंसिर ७ -प्रहरी र आन्दोलनकारीबीच शनिबार राति र आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएपछि गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० अनिल कुमार ठाकुरलाई मन्त्रालय फिर्ता बोलाएको छ। तर तोकिएको जिम्मेवारी पुरा गर्न नसकेको ठानेर मन्त्रालयले उनलाई फिर्ता बोलाएको भने होइन।  ठाकुर स्वयंले आफूले काम गर्न नसक्ने र मन्त्रालय फिर्ता आउन चाहेको बताएपछि उनलाई मन्त्रालय फिर्ता  बोलाइएको गृह प्रवक्ता लक्ष्मी प्रसाद ढकालले  जानकारी दिए।
ढकालका अनुसार उनले किन काम गर्न नसक्ने बताए भन्ने कुरा खुलाएका छैनन्। ठाकुरले  यो आफ्नो नितान्त व्यक्तिगत विषय भएको बताए।
ठाकुर डेढ महिनाअघि सप्तरीको सिडिओ बनेर गएका थिए। ‘उहाँ पनि मधेसी समुदायकै भएकाले काम गर्न सजिलो होला भन्ने ठानेका थियौं’, प्रवक्ता ढकालले भने ‘तर उहाँलाई के अफ्ठेरो भयो, काम गर्न सक्दिन भन्नुभयो।’
यसैबिच मन्त्रालयले आजै सप्तरीमा नयाँ सिडिओ पठाउने तयारी गरेको छ। ‘ टुंगो लागिसक्या छैन’, ढकालले भने ‘आज साँझसम्म नयाँ मान्छे पठाउँछौं।’
ठाकुर यसअघि सिराहा र भक्तपुरमा प्रमुख जिल्ला अधिकारी भइसकेको छन्। गृह मन्त्रालयमा दरबन्दी ठाकुरलाई डेढ महिना अघि सप्तरीको सिडिओ  बनाएर काजमा पठाइएको थियो।

Comments